classic

देश गम्भीर आर्थिक संकटमा फस्यो : नेता आचार्य

खबर पूर्वाञ्चल, २८ पुष २०७५, शनिबार १८:५५

विराटनगर /पूर्व अर्थमन्त्री तथा काँग्रेसका नेता महेश आचार्यले अर्थव्यवस्थाको कमजोर अवास्थाका कारण देश गम्भीर संकटमा फसेको बताएका छन् ।

अर्थतन्त्रको सूचकहरुले देश आर्थिक संकटतर्फ उन्मुख भएको देखाएको आचार्यको टिप्पणी छ । नेपाल प्रेस युनियन मोरङले आज विराटनगरमा आयोजना गरेको आर्थिक नीति र अहिलेको कार्यदिशा विषयक अन्तरसम्वाद कार्यक्रममा आचार्यले भने,‘‘राष्ट्र बैंकले पछिल्लो समय प्रस्तुत गरेको आर्थिक सूचकहरुले नै यो कुरा प्रस्ट गरिदिएको छ ।’’

आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीको बढ्दो स्वेच्छाचारिताका कारण मुलुकले चाहे जस्तो आर्थिक उन्नति हाँसिल गर्न निकै कठिन हुने बताए । भने,‘‘प्रधानमन्त्री कार्यालयमा धेरै क्षेत्रको अधिकार एकीकृत गरेर परियोजना चलाउन खोज्नु र लगानी सुहाउँदो वातावरण नबाउँनुले आर्थिक वृद्धि निकै कठिन छ ।’’ आचार्यले कृषि र पर्यटन क्षेत्रमा लगानी बढाई रोजगारी सिर्जना नगरुञ्जेल समग्र आर्थिक विकास सम्भव नहुने बताए । प्रधानमन्त्रीले कर्मचारीतन्त्र, प्रेस र सेवानिवृत्तहरुलाई समेत तर्साउने गरी अभिव्यक्ति दिनु अनुचित भएको टिप्पणी गरे ।

सरकार मात्र आर्थिक क्षेत्रको खेलाडी नभएको बताउँदै निजी र सामुदायिक क्षेत्रको सामुहिक आर्थिक गतिविधिबाट मात्र उच्च आर्थिक वृद्धि प्राप्त हुने बताए । भने,‘तर, अहिलेको दुई तिहाईको सरकारको गतिविधि स्थिरताभन्दा अस्थिरता उन्मुख छ ।’ सरकार, निजी र सामुदायिक क्षेत्रको संयुक्त आर्थिक प्रयासलाई रोक्ने गरी प्रधानमन्त्री स्वयम्ले उल्टो आर्थिक गतिविधिलाई टेवा दिएको आचार्यको आरोप छ । उनले अर्थतन्त्र निकै कमजोर अवस्थातर्फ जाने थालेको आर्थिक परिसूचकहरुले नै प्रस्ट गरेको टिप्पणी गरेका छन् । उनले भने,‘सरकारले उद्योग, व्यवसाय चलाउने होइन् । बरु समन्वयकारी भूमिका खेल्ने हो ।’ सरकारले भनेजस्तो १० प्रतिशत उच्च आर्थिक वृद्धि प्राप्त गर्न अर्बौ लगानी आवश्यक पर्ने भएकोले यसको जोहो देशभित्रबाट मात्र सम्भव नभएकोले विदेशी लगानी अपरिहार्य भएको बताए ।

अहिले निजी क्षेत्रले लगानी गर्ने वातावरण नभएको र करको भार बढाइएको विषयमा ध्यानाकर्षण गराउँदासमेत सरकारबाट खासै सकारात्मक सन्देश नआउँदा अन्योल बढेको बताए । सरकारको पछिल्लो चार महिनाको खर्च हेर्दा आर्थिक सूचकहरु निकै कमजोर भएको संकेत दिएको बताउँदै आचार्यले २९ अर्बको निर्यात र ४ सय ८५ अर्बको आयातले व्यापार घाटा झन् चुलिनु अर्थतन्त्रका लागि खतरा भएको बताए । भने,‘सरकारको खर्च गर्न सक्ने क्षमतामा ह्रास आएको छ । तीन तहको सरकारले समेत जम्मा ८ दशमबल ५ प्रतिशत मात्र खर्च गरेको छ ।

सरकारको ढुकुटीमै पैसा थन्किएको छ । बैंकहरुसँग लगानीयोग्य रकम छैन् । विकास खर्च हुन सकेको छैन् ।’ आचार्यले शोधनान्तर घाटाको अहिलेको अवस्था थेग्न सक्ने अवस्था नभएको र देश संकटतर्फ जाने खतरा बढेको बताए ।

तपाईको प्रतिक्रिया

SAHAKARI
PABON BRT

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५