पूर्वाञ्चल खबर
विराटनगर / थारु समुदायको कला साहित्य तथा जातिय पहिचानका लागी विराटनगमा माघि महोत्सवक २०७५ को आयोजना हुने भएको छ ।
थारु कल्याणकारी सभा मोरङले माघी संक्रान्तीको अवसर पारेर जातीय पहिचान हुने गरि माघ ५ गते एकदिने महोत्वसको आयोजना गर्न लागेको हो । विराटनगरमा आज पत्रकार सम्मेलनमा महोत्सव बारेमा जानकारी दिएका छन् । महोत्सव संयोजक गौरव तवदारले लोप हुँदै गएको थारु संस्कृतिलाई जोगाउन महोत्सवको आयोजन गर्न लागेको बताए ।
विराटनगर ४ स्थित कञ्चनबारीमा आयोजना गर्ने महोत्सवमा घोघीं, बयिया, तिलको लड्डु,मुरीको लड्डु,परेवा र हाँसको मासु,माछालगायतका थारु परिकारको स्टल रहने संयोजक तवदारले वताए ।
महोत्सवमा थारु जातीको भेषभूषा र रहनसहन झल्किने गरि वृतचित्र प्रदर्शन गर्ने सभाका अध्यक्ष प्रदिप भगत थारुले बताए । महोत्सवमा थारु जातीको लोप हुनलागेको आगोमा ताप्ने चुल्हो, वर्षी, धान राख्ने भखारी,मौडा, कोठीलगायत प्रदर्शनमा राख्ने छ ।
महोत्सवमा थारु सांस्कृतिक झल्कने झाँकी , पौराणीक नृत्य पनि प्रदर्शन हुने छ । थारु यस्तो समूदाय हो जसको देशभरि बेग्लै भेषभुषा र रहनसहन हुन्छ । त्यहि भेषभुषा र रहनसहनमा आधारीत भएर तयार पारिएको वृतचित्र महोत्सवमा प्रस्तुत गरीनेछ ।
थारु जातीको भेषभुषा, पहिरण, गरगहना, लवाई खवाई जस्ता मौलिक खाना हस्तकलाको विषयको प्रदर्शन एवं विक्रि वितरणबाट प्रदेश नं. १ का थारु जातीमा बढने अपनत्व भाव, सांस्कृतिक महत्व र आन्तरीक पर्यटनको महत्वलाई दृष्टिगत गरि वृहत रुपमा यसपटकको महोत्सव गर्न लागिएको बताइएको छ ।
महोत्सवमा सुनसरी, मोरङ र झापाका १० हजारभन्दा बढि थारु समूदायका अगुवाको सहभागिता रहने आयोजकले जनाएको छ ।