पूर्वाञ्चल खबर
बहिराहरुको सहयोगीको रुपमा काम गरिरहेको राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघ नेपालको आज विराटनगरमा आयोजित आठौ साधारण सभामा बोल्दै महानगरका मेयर भीम पराजुलीले बहिरा ब्यक्तिहरुका विषयमा महानगरले जीवन उपयोगी कार्यक्रम ल्याउने बताए । दोभाषेको अभावमा बहिरा ब्यक्तिहरुको भोगिरहेको कठिनाइलाई समेत महानगरले अन्त्य गर्ने पराजुलीले बताए । महानगरमा दोभाषेको नियुक्ति र जीवन उपयोगी सिपका कार्यक्रमहरु महानगरले ल्याउन लागेको जानकारी समेत दिए ।
कार्यक्रममा राष्ट्रिय बहिरा महासंघका केन्द्रीय अध्यक्ष केदारप्रसाद अधिकारीले अधिकार प्राप्तिका लागि सवै बहिरा ब्यक्तिहरु लाग्न आबश्यक भएको बताए । देशभरका झण्डै ५ लाख बहिराहरुका लागि जीवनउपयोगी शिक्षा आबश्यक भएको अधिकारीले बताए । बहिराहरुलाई अवसर चाहिएकाले सरकारका सवै तहले सहयोग गर्न आबश्यक भएको अधिकारीको भनाइ थियो ।
कोशी बहिरा संघको समन्वयमा विराटनगरमा जारी राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघ नेपालले दुई दिनसम्म बहिरा ब्यक्तिहरुलाई नयाँ विकास भएका शब्दहरुका बारेमा जानकारी दिने दोभाषे सन्तोषी तिवारीले जानकारी दिइन् । बहिराहरुले पहिले २२ सय शब्दहरु बोल्दै आएकोमा अहिले ४७ सय नयाँ शब्दहरु विकास भएको र सोको बारेमा जानकारी दिइने छ ।
कार्यक्रममा दोभाषे संघकी शिलु शर्मा ,कोशी बहिरा संघका अध्यक्ष चेतबहादुर बराल,विराट बहिरा माविका व्यवस्थापन समितिका अध्यक्ष रमेशचन्द्र पौडेललगायतले बालेका थिए ।