CLASSICTECH NET

खुर्सिद हत्याको कारण नखुल्दै हुसेनको हत्या

खबर पूर्वाञ्चल, ६ मंसिर २०७५, बिहीबार ०८:१७
हुसेनलाई गोली प्रहार भएको ठाउँ

दुहबी / सुनसरी हरिनगर–२ भुटाहाका खुर्सिद आलम अन्सारीको हत्याको अनुसन्धान निचोडमा नपुग्दै सुनसरीमा अर्का व्यक्तिको हत्या भएको छ । खुर्सिदको गोली हानी हत्या भएको ६१ दिनपछि बुधबार दुहबी नगरपालिका ९ का ५४ वर्षीय मोहम्मद फिदा हुसेनको गोली हानी हत्या भएको खबर आजको उदघोष दैनिकले छापेको छ । ।

बुधवार बिहान कान्छी श्रीमती आशा खातुन ऋषिदेवसँग मर्निङ वाकमा निस्किएका हुसेनमाथि उनको घरदेखि करिब डेढ किलोमिटर उत्तरतर्फ रहेको जय बाबा इँटा उद्योग अगाडि गोली प्रहार भएको हो । छातीमा गोली लागेका उनलाई न्यूरो अस्पताल विराटनगर ल्याउँदै गर्दा मृत्यु भएको सुनसरी प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरण इटहरी वितरण केन्द्र अन्तरगत इलेक्ट्रिकल हेल्परको रुपमा कार्यरत हुसेनलाई बाटो ढुकेर बसेका व्यक्तिले गोली प्रहार गरेको बताइएको छ । श्रीमतीसँग मर्निङ वाकमा निस्किएका हुसेन इँटाभट्टा छेउ पुगेपछि श्रीमतीलाई घरतर्फ जान लगाएर आफू उद्योगतर्फ गएका थिए ।

श्रीमती घरतर्फ फर्केको केही क्षणमै हुसेनमाथि गोली प्रहार भएको थियो । उनलाई इँटाभट्टा छेउको कल्भर्टमा बसेका व्यक्तिले गोली प्रहार गरी भागेको प्रत्यक्षदर्शीसमेत रहेकी आशाले बताइन् ।

‘मलाई घर फर्कन भनेर उहाँ भट्टा जानु भयो’ आशाले भनिन् ‘म घर फर्कदै गर्दा ठूलो आवाज आयो । फर्केर हेर्दा श्रीमान ढल्नु भएको थियो ।’ फिदा र आशा मर्निङवाक गर्दै जाँदा इँटाभट्टा छेउमा रहेको कल्भर्ट छेउमा मोटरसाइकल रोकेर एक युवक व्यायाम गर्दै थिए ।
गोली चलेपछि फर्केर हेर्दा व्यायाम गर्ने पातलो शरीर भएको व्यक्ति भाग्दै गरेको आफूले देखेको आशाले बताइन् । ‘उक्त मान्छे चिनिन’ उनले भनिन् ‘उहा ढलेको देखेपछि कराउँदा कराउँदै उक्त मान्छे मोटरसाइकलमा भाग्यो ।’

हुसेनका दुईवटी श्रीमती छन् । जेठी श्रीमती आश्मा खातुन माइत गएकी थिइन् । मृतकका दाजु मेहदी हुसेन दुहबी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष हुन् । हुसेनको परिवार नेपाली कांग्रेस समर्थक हो । हुसेन कार्यरत जय बाबा इँटा उद्योगका सञ्चालक खगेन्द्र श्रेष्ठ हुन् । उद्योग स्थापना कालदेखि नै हुसेन कार्यरत थिए ।

गत असोज ४ गते सुनसरी हरिनगर–२ भुटाहामा दिनदहाडै खुर्सिद आलमको गोली हानी हत्या भएको थियो । खुर्सिद हत्याको दुई महिना बितेपनि प्रहरीले हत्याको अनुसन्धान पूरा गरेको छैन । खुर्सिद हत्याको अनुसन्धान टुङ्गिन नपाउँदै बुधवार सुनसरीकै दुहबीमा सोही प्रकृतिको घटना भएको हो ।

सुनसरी हरिनगर गाउँपालिकालिकाका अध्यक्ष गफार अन्सारी लगातार मुस्लिम समुदाय माथि आक्रमण हुँदा सरकार मौन बसेको गुनासो गर्छन् । दुई महिना अघि उनका छिमेकीसमेत रहेका खुर्सिदको हत्या भएको थियो । खुर्सिद हत्यामा संलग्न पक्राउ नपर्दै सोही प्रकृतिको घटनाले त्रास उत्पन्न गराएको बताउँदै उनले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकार असफल भएको गुनासो गरे ।

गत असोज ४ गते विहान ११ बजे खुर्सिदमाथि उनले सञ्चालन गरेको रैय्यान नेशनल स्कुल अगाडिको सडकमा गोली प्रहार भएको थियो । दुईवटा मोटरसाइकलमा आएका चार जनाको समूहले गोली प्रहार गर्दा खुर्सिदको घटनास्थलमै मृत्यु भएको थियो ।

खुर्सिद हत्याको छानविनका लागि समिति गठन भएको थियो । प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी किशोर दाहालको संयोजकत्वमा गठन भएको समितिले गृह मन्त्रालयमा प्रतिवेदन बुझाएसकेको छ । छानविन समितिका संयोजक एसएसपी किशोर दाहाल छानविनका क्रममा देखिएका बिषय बस्तुलाई प्रतिवेदनमा उल्लेख गरी गृह मन्त्रालयमा बुझाइसकेको छ । तर मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको छैन ।

अाशंकामा सात पक्राउ
सुनसरीका दुहवीका हुसेन हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । बुधवार विहान भएको हत्या प्रकरणमा संलग्न भएको आशंकामा उनीहरुलाई पक्राउ गरेको बताइएको छ ।
इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक रामनारायण माझीले अनुसन्धानका लागि ७ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । प्रहरी निरीक्षक माझीका अनुसार अनुसन्धान चरणमा रहेकाले उनीहरुको नाम भने खुलाइएको छैन ।

गृहमन्त्रीको राजिनामा माग
हुसेनको हत्या भएपछि स्थानीयवासीले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्रीको राजिनामा माग गरेका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीमार्फत प्रधानमन्त्री समक्ष ५ बुँदे ज्ञापनपत्र बुझाउँदै आफन्त तथा सुनसरीका सांसदहरुले गृहमन्त्रीको राजिनामा माग गरेका हुन् ।
२४ घण्टाभित्र अपराधीलाई पक्राउ गरि कानुनको दायरामा ल्याउनुपर्ने, मृतक फिदा हुसेनलाई सहिद घोषणा गर्नुपर्ने, राज्यबाट प्राप्त हुने क्षतिपूर्ति तुरुन्त उपलब्ध गराउनु पर्ने, मृतक फिदाको मृत्यू पश्चात पारिवारिक लालनपालन गर्ने कोही नभएकोले निजको स्थानमा छोरालाई जागिर लगाइ दिनुपर्ने माग उनीहरुको छ ।

देशभरीनै हत्या हिंसा, बलात्कार र श्रृंखलाबद्ध मुस्लिम समुदायको हत्या हुँदासमेत मौन रहने वर्तमान सरकारको घोर भर्त्सना गर्दै यथाशीघ्र शान्ति सुरक्षा र जनताको जिउधनको सुरक्षा गर्न नसक्ने गृहमन्त्रीले तत्काल राजिनामा गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

हत्याको विरोधमा उत्रिएका स्थानीयले शवसहित दुहबीमा प्रदर्शन गरेका थिए । ज्ञापनपत्रमा उल्लेख भएका माग २४ घण्टाभित्र सम्बोधन नभए आन्दोलन गर्ने मृतकका दाजु मेहदी हुसेनले बताए ।

ज्ञापनपत्रमा सुनसरी क्षेत्र नम्वर २ का सांसद सीताराम मेहता, नेपाली कांग्रेस सुनसरी सभापति तथा प्रदेश १ का संसदीय दलका नेता राजिव कोइराला, १ नम्वर प्रदेश सांसद अगमलाल चौधरी, दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदार लगायतको हस्ताक्षर गरेका छन् ।

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५