पूर्वाञ्चल खबर
नेपालमा आफ्नै स्रोत साधन र इच्छाशक्तिले खेलिरहेका उनीहरूलाई राज्यको तर्फबाट खासै सहयोग भने छैन। तर, नेत्रहीन क्रिकेट खेलाडी भन्छन् ‘हामीले नयाँ जीवन पाएका छौँ, राज्यले थप सहयोग गरे विश्वकपको ट्रफि उचाल्छौँ।’ नेत्रहीन क्रिकेट संघ नेपालको आयोजनामा विराटनगरमा बुधबारदेखि प्रतियोगिता सुरु भएको छ। तीन दिनसम्म चल्ने प्रतियोगितामा म्याग्दी, झापा, बर्दिया र त्रिभुवन आर्मी क्लबबाट ६० जना नेत्रहीन खेलाडीले भाग लिएका छन्। विराटनगरस्थित शहीद रंगशालामा भएको प्रतियोगिता हेरेपछि क्रिकेट प्रशिक्षक प्रदीप पाण्डेले राज्यले केही सहयोग गरे नेत्रहीन क्रिकेट टीम विश्वकप जित्न सक्ने अवस्थामा रहेको देखिएको बताए।
नेपालमा २०६३ सालमा नेत्रहीन क्रिकेट संघको स्थापना भएको हो। क्रिकेट संघका संस्थापक अध्यक्ष पवन घिमिरेको पहलमा गठन भएको संघले नेपालको तर्फबाट विश्वकप खेलिसकेको छ भने महिला क्रिकेट टिमको गठन विश्वमै पहिलो पटक भएको छ। क्रिकेट टिममा आबद्ध भएपछि खेलाडीले नयाँ जीवन पाएको नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेको भनाइ छ। नेत्रहीन क्रिकेट खेलाडी भने आफूहरूलाई राज्यले प्रोत्साहन नगरेको बताउँछन्।
सवलाङ खेलाडीहरू विदेश जाँदा वा प्रतियोगिताबाट फर्किदा स्वागत गर्न मन्त्री एयरपोर्ट पुग्ने गरेको तर, आफूहरू गएको/आएकोबारे जानकारीसमेत राख्ने नगरेको नेत्रहीन क्रिकेट खेलाडी दुर्गा भण्डारीको गुनासो छ। नेपालले सवलाङ क्रिकेट विश्वकपको प्रतियोगिताबाट उपाधि ल्याउँछु भन्नु अहिलेका लागि हास्यास्पद कुरा हो। किनकि विश्वकप छनोटबाटै नेपाल आउट हुने गरेको छ। तर, नेत्रहीन क्रिकेट टोलीले विश्वकप खेलिसकेको छ भने अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।
विश्वकप उपाधि जित्न राज्यको सहयोग र हौसलाको मात्रै खाँचो रहेको बताउँछन् नेत्रहीन क्रिकेट टिमका रेफ्रि नगेन्द्र निरौला। सरकारले सहयोग नगर्दा पनि आफूहरूले क्रिकेटका महारथीहरूलाई हराएको सम्झँदा गर्व लागेको बताउँछन नेत्रहीन क्रिकेट संघका महासचिव विक्रम राना। सरकारले सवलांगलाई जत्तिकै सहयोग गर्न नसके पनि केही प्रोत्साहनका कार्यक्रम ल्याउनु आवश्यक देखिएको उनको भनाइ छ। आजक जनविद्रोह दैनिकले यो समाचार छापेको छ ।आजको जनविद्रोह दैनिकले यो समाचार छापेको छ ।