पूर्वाञ्चल खबर
मोरङको उर्लाबारी नगरपालिका-७ ईटहरा रोड बस्ने भक्तराम अधिकारीको किराना पसलमा मंगलबार आगलागी हुँदा अन्दाजी १ करोड ११ लाख ३२ हजार मूल्य बराबरको क्षति भएको छ । आगलागीबाट अधिकारीको २ तले काठको घरमा संचालन गरेको किराना पसलमा दिउँसो २ बजे बिद्युत सर्ट भई आचानक आगलागी भएको थियो । आगलागीबाट ६० लाख मूल्य बराबरको घर, ५० लाख मूल्य बराबरको किराना सामान, २ तोला सुन, नगद १२ हजार जलेर नष्ट भएको छ । साथै उक्त आगलागीबाट नजिकै रहेको अर्जुन न्यौपानेको काठको १ तले घरको जस्तापाता समेत जलेर नष्ट हुँदा अन्दाजी १ लाख मूल्य बराबरको क्षति भएको छ । उक्त आगलागी ६ वटा दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा अपरान्ह सवा ४ बजे पूर्ण रुपमा नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
त्यसैगरी झापाको गौरादह नगरपालिका-६ दामुनामा बुधवार राती आगलागी हुँदा अन्दाजी ६ लाख मूल्य बराबरको क्षति भएको छ । राती करिब पौने १ बजेको समयमा सोही स्थान बस्ने रामप्रसाद चेम्जोङको टाटी बेराले बनेको फुसको छानो भएको १ तले घरमा बिद्युत सर्टभई अचानक आगलागी भएको थियो । आगलागीबाट चेम्जोङको घर, नगद १ लाख, आधि तोला सुन,४० मन धान, फर्निचरलगायत सम्पूर्ण सर-सामान जलेर नष्ट भएको छ । उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा पूर्ण नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।