पूर्वाञ्चल खबर
प्रदेशका कार्यवहाक मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै यसअघि कार्तिक २६ गते गर्ने भनिएको महोत्सव २ दिन पर सारिएको र भव्य ढंगले गर्ने बताए । प्रदेश १ को अस्थायी राजधानीको रुपमा रहेको विराटनगरमा छैठ पर्वको महत्व अझै धेरै भएको कारण छठको अन्त्यसँगसँगै महोत्सव आयोजना गरिएको र यस खाले पर्वले राष्ट्रियता र सामाजिक सद्भाव लाई अझै एकताबद्ध बनाउने पनि मन्त्री कार्कीले जानकारी दिए।
पत्रकार सम्मेलनमा प्रदेशका सामाजिक विकाश मन्त्री जीवन घिमिरेले प्रदेशको सबै साझा पर्व महोत्सवको रुपमा कार्यक्रम गर्न लागिएको बताए । महोत्सवका अवसरमा मोरङका विभिन्न स्थानीय तहबाट विभिन्न खाले झाँकी तथा नृत्य प्रस्तुत हुने पनि उनले जानकारी दिए ।
साँस्कृतिक महोत्सवको अवसरमा झाँगढ साँस्कृतिक झाँकी, सन्थाल नृत्य, बाँतर नृत्य, थारु साँस्कृतिक झाँकी, माडवारी साँस्कृतिक झाँकी, मुस्लिम साँस्कृतिक झाँकी आदि प्रदर्शन गरिने छ ।
सांस्कृतिक महोत्सवमा राष्ट्रिय कलाकारहरु दीपाश्री निरौला, विल्सन विक्रम राई (तक्मे बुढा), सुमित खड्का, मैथिली भाषी कलाकार ललितकुमार र संगीतालगायतले सहभागीता जनाउने बताइएको छ । महोत्सवमा ४ हजार बढीलाई निम्तो बाँडिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । उक्त महोत्सव विराटनगरस्थित आदर्श विद्यालयको प्राङ्गणमा हुने कार्यक्रम कार्य संचालन उपसमितिका संयोजक उपेन्द्र दाहालले जानकारी दिए ।