पूर्वाञ्चल खबर
आज भाईटिकाका लागि शुभसाईत विहान ११ बजेर ५५ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समीतीले जनाएको छ । साइतमा टिका लगाउन नपाउनेले दिन भर कुनैपनि समयमा टिका लगाउँदा पनि शुभ रहने समीतीले जनाएको छ ।
दिदीबहिनीले आफ्ना दाजुभाईलाई टीका लगाईदिदा धार्मीक विधीअनुसार मण्डप बनाई अष्टचिरञ्जीवीका साथै यमराज र यमुनाको पुजा गरी त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाई नओइलाउने मखमली , सयपत्री र दुवोको माला लगाईदिएर चिरायुको कामना गर्ने गर्दछन् । पौराणीक मान्यताअनुसार यमुनाले आफ्ना दाजु यमराजलाई यसदिन विशेष सम्मानपुर्वक पुजाआजाका साथ टिका लगाई दीर्घायुको कामना गरेकी हुदा त्यसै घटनाको सम्झनामा दाजुभाईको दीर्घायुको कामना गर्दै दिदीबहिनीले भाइटिका लगाउने परम्परा चल्दै आएको हो ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा. रामचन्द्र गौतमले जानकारी दिए ।
टीकामा साइतका प्रतिक – सात वा पाँच रंग प्रयोग गरिनुका साथै दाजुभाईलाई सगुन , मिठाई , फलफुल , ओखर , कटुस र मसला तथा सेलरोटी दिने चलन रहेको छ । दिदीबहिनीहरुले टीका लगाईदिएपछि दाजुभाईहरुले आफ्नो गच्छेअनुसार उपहार तथा दक्षिणा दिएर उनीहरुको अटल सौभाग्य , सुख , समृद्वि र चिरायुको कामना गर्दछन् ।