पूर्वाञ्चल खबर
सिमेन्ट लोड गरिएको को १ त ८४५ नम्बरको ट्रयाक्टर सहित विराटनगर १८ का पंकज यादवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोश निरौलाले बताए । भारतमा उत्पादित कंक्रिटो फायभ एड्भान्टेज नामक सिमेन्ट तस्करी गरेर ल्याउँदै गर्दा एक सय ५० बोरा बरामद गरिएको उनको भनाइ छ । पक्राउ परेका यादव भारतको बथनाहादेखि मोरङको कटहरी सम्मको निर्माणाधिन रेल–वे लाइनका पेटी ठेकेदार समेत रहेको खुलेको छ ।
ठेकेदार यादवकै सक्रियतामा सिमेन्ट तस्करी हुने गरेको पाइएपछि रेल–वे निर्माणमा समेत तस्करी गरेर ल्याइएको भारतीय सिमेन्टकै प्रयोग हुने गरेको आशंकामा थप अनुसन्धान अघि बढाइएको निरौलाले बताए । प्रहरीले बरामद भएको सिमेन्ट र नियन्त्रणमा लिइएको ट्रयाक्टर सहित यादवलाई आवश्यक कारवाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएर आफ्नो हिसावबाट पनि अनुसन्धान थालेको हो ।