पूर्वाञ्चल खबर
विराटनगरमा मंगलबार आयोजित १ नम्बर प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुविधा भोगी बन्ने कुरालाई त्याग गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका हुन्।
जनताको सेवाका लागि स्थानीय तहका लागि बजेट निकासा गरेको भन्दै प्रधानमन्त्री ओलीले त्यसैमा केन्द्रीत हुन र अन्यत्र खर्च नगर्न पनि आग्रह गरे। ‘जनताको मन जित्ने काम गर्नुहोस्, जनताको सुखदुःखमा साथ दिनुहोस्, जनतालाई मन नपर्ने र जनतालाई दुःख पर्ने काम नगर्नुहोला,’ ओलीले भने, ‘लोकप्रिय बन्ने नाममा बर्को ओडेर खाने काम पनि नगर्नुहोला।’
प्रधानमन्त्री ओलीले जनताको सेवक भएर काम गर्न पनि जनप्रतिनिधिलाई आग्रह गरे। जनप्रिय बन्ने नाममा बर्को ओडेर अनावश्यक बोल्ने र भित्रभित्रै खाने प्रवृत्ति पनि अन्त्य गर्नुपर्नेमा उनले जोड दिए। ‘जनप्रतिनिधिले जनप्रिय काम गर्नुपर्छ, पार्टी कार्यकर्ताले राम्रो काम गर्न सुझाव दिनुपर्छ,’ ओलीले भने, ‘कसैलाई खुइल्याउने र आलोचना गर्ने मात्रै होइन रचनात्मक सुझाव दिने र देशलाई समृद्ध बनाउने कुरामा ध्यान दिनुहोला ।’
आगामी २ वर्षभित्रमा विद्युत् बिक्री गर्ने अवस्थामा पुग्ने बताउँदै नेपालमा पूर्वपश्चिम विद्युतीय रेल कुद्नसक्ने पनि बताए। ‘कसैलाई रेलको कुरा गर्दा हाँस उठ्नसक्छ, तर नेपालमा पूर्वपश्चिम रेल कुदाउन सकिन्छ,’ ओलीले भने, ‘रेल कुदाउँदा तेल पनि चाहिँदैन, मान्छे पनि धेरै बोक्छ, बिजुलीबाटै रेल कुद्छ।’
कार्यक्रममा अध्यक्ष ओलीले पूर्व एमाले वा पूर्व माओवादीको नाममा आग्रह पूर्वाग्रह नराख्न पनि कार्यकर्तालाई आग्रह गरे। ‘पूर्व एमाले–एमाले एक हुने, पूर्व माओवादी–माओवादी एक हुने त्यसपछि वार्गेनिङ गर्ने कुरा छोडिदिनुहोला,’ ओलीले भने, ‘एकताका क्रममा को तल को माथि हुने भन्ने विषय पनि छोडिदिनुहोला, सबै आवश्यकताको आधारमा हुने हो, आवश्यकताकै आधारमा नेतृत्व पनि स्थापित हुन्छ।’ यो समाचार आजको जनविद्रोह दैनिकमा अर्जुन आर्चायले लेखेका छन् ।