पानी उद्योगको अनुगमन : गोदाम, गोठ र कोठामा पनि उद्योग

पिएच बढाउन हुलास पानीमा पोटासियम मिसावट
खबर पूर्वाञ्चल, ९ श्रावण २०७५, बुधबार १७:३६

विराटनगर / विराटनगरमा गोदाम र गाई गोठमा पनि पानी उद्योग सञ्चालन गरेको पाइएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयले गरेको अनुगमनका क्रममा गोदाम, गाई गोठ र घरको कोठामा पानी उद्योग सञ्चालन गरेको पाइएको हो ।

मन्त्रालयले गरेको चौथो दिनको अनुगमनका क्रममा विराटनगर–१२ पिचरामा पुरानो गाई गोठमा सञ्चालित भूमि जल उद्योगमा सिलबन्दी गरिएको छ भने विराटनगर– ९ गोदाममा खुला रुपमा सञ्चालित मंगलम वेभव्रेज उद्योगलाई सुधार गर्न निर्देशन दिइएको छ । अनुगमनका क्रममा घरको कोठाभित्र सञ्चालित प्रजापति जल उद्योगलाई प्लान्ट सार्न निर्देशन दिइएको छ ।

विराटनगर– १२ मा भोला बरालको पूरानो गाई गोठ भाडामा लिएर ननु अधिकारीले सञ्चालन गरेको भूमि जल उद्योगले खाद्य अनुज्ञा पत्र लिएको कागज देखाउन नसकेपछि शिलबन्दी गरिएको हो । उद्यागेले भूमि जल नाममा जारमा पानी उत्पादन गर्दै आएको थियो । बन्द कोठामा पानीको फिलिङ गर्नु पर्ने भएपनि पुरानो गोठमा सञ्चालन गरेको पाइएपछि सामाजिक विकास मन्त्रालयका सहसचिव गोपीप्रसाद घिमिरे नेतृत्वको अनुगमन समितिले शिलबन्दी गरेको हो ।

त्यस्तै विराटनगर– ९ कलेज रोडमा सञ्चालित मंगलम वेभव्रेज इन्ड्रष्टीज खुला ठाउँमा सञ्चालन गरेको पाइएपछि तत्काल सुधार गर्न निर्देशन दिइएको छ । योगेश अग्रवाल र रेनुका रेग्मी सञ्चालक रहेको मंगलमले खुला गोदाममा जारमा प्रसोधित पानी बिक्री गर्दै आएको थियो । प्लाट र फिलिङ सिस्टक एकै ठाउमा भएको उद्योगलाई अनुगमन समितिले तत्काल सुधार गर्न निर्देशन दिएको हो ।

त्यस्तै विराटनगर १० मा शशि जल उत्पादन गर्दै आएको प्रजापति जल उद्योगले घरको कोठामा प्लान्ट राखेको पाइएको थियो । अनुगमन समितिले बोतलमा पानी बिक्री गर्न अनिवार्य रुपमा अटोमेटिक फिलिङ मेसिन जडान गर्न निर्देशन दिएको छ ।

मंगलवार हुलास वाटर इन्ड्रस्टीज, जोनसन जल र दिब्य श्री जल उद्योगमा अनुगमन गरिएको थियो । अनुगनका क्रममा प्रजापति जल उद्योगको हिसाव खाता जफल गरी दुई हजार जरिवाना गरिएको छ भने करपाटी नराख्ने दिब्यश्री जल उद्योलाई दुई हजार जरिवाना गरिएको छ ।

पिएच बढाउन हुलास पानीमा पोटासियम मिसावट

किसोर दुगड सञ्चालक रहेको हुलास प्युरीफाइड वाटर इन्ड्रस्टीजले उत्पादन गरेको पानीमा पोटासियम बाइकार्बाेनेट प्रयोग गर्ने गरेको पाइएको छ । सोमवार गरिएको अनुगमनका क्रममा उद्योगहरुले पानीको पिएच मिलाउन सोडा प्रयोग गर्ने गरेको पाइएको थियो ।

मंगलवार सामाजिक विकास मन्त्रालयले गरेको अनुगमनका क्रममा ‘हुलास वाटरको’ नाममा जार र बोतलमा पानी उत्पादन गर्दै आएको सो उद्योगले पानीको पिएच मिलाउने नाममा पोटासियम बाइकार्बाेनेट प्रयोग गर्ने पाइएको क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्य निरिक्षक प्रेम अर्यालले जानकारी दिए । उनका अनुसार पोटासियन बाइकार्बाेनेटको सेवनले मुटु तथा ब्लड प्रेसर सम्बन्धी समस्या बढी देखिन्छ । उद्योगले ‘जोडिङ’का नाममा प्रयोग गर्ने गरेको पाइएपछि हटाउन निर्देशन दिएको उनले बताए ।

उद्योगका सञ्चालक किसोर दुगड पानीको गुणस्तर कायम राख्न पोटासियमको प्रयोग गरिएको बताउँछन् । अनुगमनका क्रममा हुलासले बिक्री मूल्य पनि सामान्य भन्दा बढी राखेको पाइएको थियो । सामान्य तथा एक बोतल पानीको मुल्य २० रुपैया तोकिएको छ । तर सो उद्योगले प्रति लिटर पानीको मूल्य ३० रुपैया राखेको छ ।

पानी उत्पादक महासंघ प्रदेश १ अध्यक्ष पुण्य भट्टराईका अनुसार एक बोतल पानी उत्पादन गर्न उद्योगको लागत बढीमा १० रुपैयादेखि १२ रुपैया सम्म मात्र पर्छ ।

लागतको अनुपातमा व्यावसायीले एक बर्ष अघि नै एक लिटर पानीको मूल्य २० रुपैया निर्धारण गरेको थियो । तर हुलासले भने महासंघको निर्णय विपरित एकसय प्रतिशत मुनाफा हुनेगरी पानीको मूल्य ३० रुपैया तोकेको हो । अनुगमन टोलीले मूल्य समायोजन गर्न निर्देशन दिएको छ । हुलासले खुद्रा मूल्य ३० रुपैया राखेपनि बिबmी भने सरदर १३ रुपैया लिटरले बिक्री गर्दै आएको छ । सो उद्योगले काटेको भ्याट विल हेर्दा पनि पानीको सरदरमुल्य १३ रुपैया मात्र कायम गरेको छ । उद्योगका सञ्चालक दुगड भने लागत अनुसारको मूल्य राखिएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५