महानगरमा जनप्रतिनिधिको एक बर्ष जनअपेक्षा बढी काम कम

खबर पूर्वाञ्चल, २८ असार २०७५, बिहीबार ०७:४०

विराटनगर/ दुई दशक यता जनप्रतिनिधि विहिन भएको विराटनगर महानगरपालिकाले जनप्रतिनिधि पाएको एक बर्ष पुरा भएको छ । नेतृत्वमा जनप्रतिनिधि आएको एक बर्ष भएपनि जनअपेक्षा अनुसार काम भएको छैन् ।

जनताको असिमित आशाका बाबजुत जनप्रतिनिधि नेतृत्वमा आएपछि विकास निर्माणको कामले गति पाएको छ । तर जनताको सामान्य दैनिकीमा प्रवाभ पार्ने काम नभएका कारण सर्वसाधरणले जनप्रतिनिधि आएको महसुस गर्न नपाएको नमिता न्यौपाने बताछिन् । ‘जनताले महसुस गर्ने काम भएको छैन् ।’ तत्कालिन माओवादी केन्द्रबाट उपमेयर उम्मेद्धवार बनेकी न्यौपाने भन्छिन् ‘जनप्रतिनिधिले जनता दैनिकिमा प्रभाव पार्ने सानो सानो काम पनि गरेनन ।’

उनी योजनाबद्ध रुपमा अघि नबढेका कारण जनप्रतिनिधिहरु आलोचित हुन थालेको बताउछिन् । हिजो जनप्रतिनिधि नआउँदा र आज आउँदा महानगरमा जाने सेवाग्राहीले फरक महसुस गर्न सकेका छैनन् ।’ उनले भनिन ‘ जनप्रतिनिधिहरुमा प्रतिवद्धता कार्यन्यन गर्ने पक्ष फितलो भयो ।’

एकबर्षयता जनप्रतिनिधि नेतृत्वमा आएपनि जनताले अनुभूति गर्ने खालका कुनै काम नभएको तत्कालिन नेकपा एमालेको तर्फबाट मेयरको उम्मेद्वार बनेका बिनोद ढकाल बताउँछन् । ‘जनताको अपेक्षा अनुसार काम भएन ।’ उनी भन्छन ‘ विराटनगरको विकासको कुरा भएको छ तर परिवर्तन भएको छैन् ।’ जनप्रतिनिधि आएपनि जनताले हिजोकै जस्तो शास्ती भोग्नु परेको उनको भनाई छ ।

तर विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली सिमित स्रोत साधनका बाबजुत महानगरले उल्लेखनिय काम गरेको बताउँछन् । निर्वाचनका बेला चुनावी नारा लगाउँदा नगरबासीले पराजुलीले पदभार ग्रहण गरे लगतै सुधार हुने अपेक्षा गरेका थिए । तर जनप्रतिनिधिले नेतृत्व ग्रहण गरेको महिना दिन हुन नपाउँदै महानगर बाढीको चपेटामा प¥र्याे । बाढीको चपेटाबाट अस्तव्यस्त बनेको विराटनगरलाई सामान्य अवस्थामा फर्कन निकै समय लागेको थियो । बाढी पछि चाडपर्ब र प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको कारण महानगरको काम सुस्त देखिएको थियो ।

मेयर भीम पराजुली पनि बाढी चाडपर्ब र चुनावका कारण जनचाहाना अनुरुप काम गर्न नसकेको बताउँछन । जनप्रतिनिधिले नेतृत्व गर्नुअघि नै मझौला सहर एकिकृत वातावरणीय सुधार परियोजनाको ढल र नाला विछ्याउन खनिएका सडकका कारण महानगर अस्तव्यस्त थियो ।

मेयरमा निर्वाचित भएपछि पराजुलीले अस्त व्यस्त विराटनगरलाई सामान्य अवस्थामा फर्काउन निरन्तर काम गरेपनि बजार क्षेत्र अझै अस्तव्यस्त छ । तर विराटनगरका भित्रि सडक भने स्तरउन्नतीको काम धमाधम सञ्चालित छ । ‘हामीले कोर एरियाका काम गरेका छैनौ ।’ पराजुली भन्छन् ‘व्यस्त बजारमा काम नगरेपनि आसपासका साइडमा काम दु्रत गतिमा भएका छन् ।’ कर्मचारीको नेतृत्व हुदा विराटनगर भत्काउने काम भएको बताउँदै मेयर पराजुली जनप्रतिनिधि आएपछि निर्माणको कामले गति लिएको बताउँछन् ।

‘हिजो जताततै संरचना भत्कीएको अवस्थामा थियो । पहिले भत्कीएको ठाउमा बनाउने गरी हामीले कोर एरिया बाहिरका क्षेत्रमा काम गरेका छौ ।’ पराजुली भन्छन् । पाँच बर्ष भित्र ४ सय किलोमिटर कालोपत्रे गर्ने टार्गेट छ । दुई बर्ष भित्र हिलो र धुलो मुक्त महानगर बन्ने छ ।’

मेयर पराजुली कार्यकाल सुरु भएपछि अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजनाहरु अघि बढाएको बताउँछन् ।

सुरुवाती अवस्थामा सय दिन भित्र पुरा गर्ने काम घोषणा गरेर पुरा गरेको पराजुली बताउँछन् । एकसय दिने कार्यक्रममा सडकका खाल्डाखुल्डी पुर्ने, मोतियविन्दु निर्मुल पार्न निशुल्क अप्रेशन, छोरी बचाउ अभियान र सामाजिक सुरक्षा भत्ता घर घरमा बाड्ने काम योजना समावेश थियो ।

एक बर्षको अवधीमा एसियाली बिकास बैंक (एडिबी)को सहयोगमा सञ्चालित दुईवटा परियोजना व्यवस्थीत रुपमा अघि बढाएको पराजुली बताउँछन् । ‘दुई परियोजना मध्ये सघन सहरी बातावरणिय सुधार परियोजना हामी आउनु भन्दा करिब साढे चार बर्ष अगाडी नै सुरु भएको थियो ।’ उनले भने ‘ तर प्लान वे मा काम भएको थिएन् डामाडोल अवस्था थियो ।’

जनप्रतिनिधिले पहल सुरु गरेपछि काम निरन्तर सुरु भएको उनको भनाई छ । ‘सघन सहरी विकास परियोजनाको काम खराब भएका कारण एडिबीले अर्काे प्रोजेक्ट दिन मानेको थिएन् ।’ सञ्चालित सघन विकास परियोजना पनि अनप्लानिङ थियो । हामीले प्लान वेमा काम बढाका छौ । उनले भने ।

मेयर पराजुली जनप्रतिनिधि आएपछि बसपार्क, तारणीप्रसाद कोइराला सञ्चार ग्राम, आरोहण गुरुकुलको भवन निर्माणको काम दु्रत गतिमा सञ्चालित रहेको बताउँछन् ।
विराटनगरलाई प्रदेशको राजधानी बनाउनुपर्छ भनेर महानगरपालिकाले सुरुदेखि नै लभिङ गरेको थियो । अस्थायी राजधानी तोकिएपछि महानगर स्थायी राजधानी बनाउन सबै मिलेर लभिङ गर्नुपर्ने पराजुली बताउँछन् । उनले विराटनगरलाई स्थायी राजधानी बनाउन विराटनगर १९ मा अन्तराष्ट्रीय स्तरको सभागृह निर्माणको काम सुरु गरेको बताए । पाँच विगाहा जग्गा अधिग्रहण गरेर २ हजार ५ सय मानिस अटाउने सभागृह निर्माणको प्रकृया सुरु भएको छ ।

व्यस्तता घट्यो

लामो समयको ग्याप पछि निर्वाचित भएका जनप्रतिनिधिहरुलाई कामका बारेमा बुझ्नै समय लागेको थियो । नेतृत्व ग्रहण गरेपछि करिब तिन महिना जनप्रतिनिधिहरुलाई स्वागत सम्मान गर्नेको होडबाजी थियो । निर्वाचित भएपछि पराजुलीले मात्र एकैदिन १४ स्थानमा छुट्टा छुट्टै कार्यक्रम सहभागि भएका थिए ।

प्रदेश राजधानी विराटनगर भएपछि मेयर पराजुलीलाई केही राहत भएको छ । उनको कार्यक्रममा सहभागिता पनि घटेको छ । राजधानी तोकिन अघि दैनिक कार्यक्रमको लामो सेडुलका बिच काममा रहने मेयर पराजुली पछिल्लो समय जनताको कामम केन्द्रित भएको प्रेस संयोजक कौशल निरौला बताउँछन् । मेयर पराजुली पनि अब विकास निर्माणले गति लिने बताउँछन् । विगतको एक बर्ष सिकाई भएको बताउदै उनी महानगरका जनताले महसुस हुनेगरी काम गर्ने बताउछन् ।

के बाचा पुरा भएन

एकसय दिनभित्र महानगर क्षेत्रको डुबान र फोहोरमैलाको समस्यालाई हटाउन नाला सफाई कार्यलाई अभियानका रुपमा संचालन गर्ने तथा सडकमा भएका खाल्डाखुल्डी पुर्ने योजना पूर्ण कार्यन्यन भएन ।

स्ल्याब बिनाका नालाहरुमा स्ल्याब लगाई नालामा फोहोर फाल्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने । बल्ल सडकमा डसविन राख्ने काम सुरु भएको छ ।
इ चौतारी निर्माणको काम सुरु भएन
हाटखोला र परोपकार घाटमा विद्युतिय शवदाह गृह निर्माणको काम अघि बढेन्

शैक्षिक बेरोजगारलाई लक्षित गरी कार्यक्रम भएन् ।
विराटनगर जुटमिल सञ्चालनको काम अघि बढेन् ।
रुख विरुवा संरक्षण गर्ने व्यक्ती वा समुहलाई प्रकृति संरक्षण सम्मान प्रदान गर्ने काम सुरु भएन ।
सुविधा सम्पन्न पशुबधसाला सञ्चालन ।
फोहोरमैला व्यावस्थापनकालागि वेष्ट इनर्जी प्रविधिको सुरुवात भएन ।

सुपथ मुल्यको पसल सञ्चालन भएन
प्रत्येक वडामा एम्बुलेन्स सेवा सञ्चालन भएन ।
तार रहित विराटनगर निर्माणको योजना अघि बढेन्
आयल निगमको भण्डारण क्षमता बढाउन पहल भएन्
बन्द हडताल रहित महानगर भएन् ।
फ्रि वाइफाई जोन निर्माण
चाडपर्ब लक्षित तीन महिने सुरक्षा अभियान

एक बर्षमा के के काम भए

नेपाल सरकारले उपलब्ध गराउने सवै प्रकारको सामाजिक सुरक्षा भत्तालाई वितरणमा सरलिकृत, व्यवस्थित, पारदर्शी बनाई बैंक तथा वित्तिय संस्थाहरु मार्फत वडा कार्यालयहरुबाटै वितरण प्रकृया सुरु ।

महानगरलाई मोतियाविन्दु मुक्त नगर बनाउन स्वास्थ्य संस्थाहरु मार्फत निशुल्क आ“खा जा“च तथा मोतियाविन्दुको निशुल्क अपरेशनको सम्झौता ।
एसियाली बिकास बैंकको ऋण सहयोगमा सञ्चालित दुबै परियोजनाको काम पछिल्लो समय दु्रतगतिमा सञ्चालन ।
विराटनगरलाई अस्थायी राजधानी बनाउने काममा सहकार्य ।
तारणीप्रसाद कोइराला सञ्चारग्राम, आरोहण गुरुकुल र बसपार्कको निर्माण दु्रतगतिमा सञ्चालन ।
सघन सहरी विकास कार्यक्रम अन्तरगत सडक स्तरउन्नतीको काम अन्तिम चरणमा ।

सडक बिजुली पानी ढल आदी निर्माणको काम निरन्तर ।
खेलकुद पूर्वाधार निर्माणमा बजेट विनियोजन
अन्तराष्ट्रीय स्तरको सभागृह निर्माणकालागि प्रकृया सुरु ।
६ लेन परियोजनाको काम सञ्चालनकालागि निरन्तर अनुगमन ।
विरेन्द्रसभा गृह मर्मत, विरेन्द्रसभागृह छेउकै इको पार्क सञ्चालनको तयारी ।

शैक्षिक संस्था सुधारकालागि अभियान । पाचवटा नमुना विद्यालय बनाउने प्रकृया सुरु । सडक बत्ती जडान
विराटनगरको ए र बी प्लटमा अण्डर ग्राउण्ड पार्कीङ सहितको पार्क बनाउने कामको प्रकृया सुरु । आजको उदघोष दैनिकमा यो समाचार छापिएको छ ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५