छोरीलाई जिउँदै आगो लगाउने बुबा, हजुरआमासँगै, दुई फूपू पक्राउ

खबर पूर्वाञ्चल, २६ असार २०७५, मंगलवार ०८:१४

बुटवल/आफ्नै छोरीलाई मट्टीतेल छर्केर आगो लगाएको अभियोगमा बाबुसहित चार जना पक्राउ परेका छन् ।

रूपन्देहीको कञ्चन गाउँपालिका–५ की १६ वर्षीया किशोरी समीक्षा ठकुरीलाई आगो लगाएको आंशकामा उनका बुबा तेजबहादुर, हजुरआमा हरिकला, फुपूहरू मधु र अमृतालाई इलाका प्रहरी कार्यालय सालझन्डी रूपन्देहीले सोमबार पक्राउ गरेको हो ।

समीक्षा आफ्नै घरमा सुतेको अवस्थामा मट्टीतेल छर्केर जलेको अवस्थामा ९ असारमा भेटिएकी थिइन् । गम्भीर घाइते समीक्षाको उपचारका क्रममा २० असारमा काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको थियो ।

प्रहरीले हरिकला र तेजबहादुरलाई रुद्रपुरबाट र अमृता र मधुलाई बुटवलबाट नियन्त्रणमा लिएको थियो । इराकमा कार्यरत मृतक समीक्षाकी आमा माया थापाले नेपाल फर्केर प्रहरीमा उजुरी गरेपछि परिवारका सदस्य पक्राउ परेका थिए ।

इलाका प्रहरी कार्यालय, बुटवलबा प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले घटना शंकास्पद भएको बताए । मावली घरमा बस्दै आएकी समीक्षा विगत ६ महिनायता मात्रै बुबाको घरमा बस्न थालेकी थिइन् । उनी गाउँकै पिसल्यान्ड भूपू सैनिक पब्लिक बोर्डिङ स्कुलमा १० कक्षा पढ्दै आएकी थिइन् । उनका बुबा गाडी चालक रहेको बताइएको छ ।

समीक्षा जन्मेको ९ महिना हुँदा उनका बुबाले दोस्रो बिहे गरेसँगै उनकी आमालाई कुटपिट गरेपछि त्यतिबेलादेखि नै उनी आमासँगै मावलमा बस्दै आएको स्थानीयहरू बताउँछन् ।

प्रहरीले उजुरी लिन नमानेकै कारण इराकमा रहेकी आमा नेपाल आएर उजुरी दर्ता गराएकी थिइन् । आमाले उजुरी दिएपछि मात्रै प्रहरीले अनुसन्धानलाई अगाडि बढाएको छ ।

समीक्षा घरम बस्न थालेपछि अंश दिनुपर्ने डरले परिवारले मिलेर आगो लगाएको किशोरीकी आमा र मावली पक्षले दाबी रहेको छ । घटना हुनु एक महिनाअघि पनि बुबा, हजुरआमा र फूपुहरू मिलेर घाइते हुने गरी कुटपिट गरेपछि समीक्षाले प्रहरीमा उजुरी दिएकी थिइन् । तर, प्रहरीले उनको उजुरीप्रति बेवास्ता गर्दै आएको थियो । आजको राजधानी दैनिकमा यो खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५