पूर्वाञ्चल खबर
मोरङको केवारी गाउँपालिका ७ स्थित खदम खोलामा खेल्नेक्रममा हिजो साँझ ५ बजेतिर एक्कासी बाढीमा बग्न पुगेका सोही ठाउँका अमृत दुलालका ६ बर्षिय छोरा अनसल दुलाललाई इलाका प्रहरी कार्यालय केरावारीका दुई प्रहरीले उद्धार गर्न सफल भएका हुन् ।
बाबु आमा खेतमा काम गर्न गएको बेला खोला किनारमा खेल्नेक्रममा बालक अनसल तेज धार भएको खदम खोलामा बग्न पुगेका थिए । बालक चिच्याउदै बगेको देखेपछि खोलामै डयुटी गरिरहेका इलाका प्रहरी कार्यालयका प्रहरी जवानद्वय रजबिन यादब र सुरेश थामीले खोलामा पसेर पौडी खेल्दै उनको उद्धार गरेका थिए ।
खोलाको बाढीले बालकलाई साठी मिटर तल बगाइसकेको अवस्थामा पनि प्रहरी जवानहरुले खोलामा पसेर उनको उद्धार गर्न सफल भएको इप्रका केरावारीका सई दिपक यादबले बताए । उद्धार गर्ने क्रममा प्रहरीहरु सामान्य घाइते भएका थिए । उद्धार गरिएका बालकको अवस्था समान्य रहेको छ ।
खोलामा हुने अबैध उत्खननलाई नियन्त्रण गर्न केरावारी प्रहरीले चौबिसै घण्टा आजकल प्रहरी खटाउने गरेको छ ।
खोलाको बाढीमा बगेका बालकको उद्धार गर्न सफल भएपछि गाउँलेहरुले प्रहरीको प्रशंसा गरेका छन ।