चिसाङ्ग खोला खन्ने सपना नदेख्न पौडेललाई सांसद राईको चेतावनी

खबर पूर्वाञ्चल, १९ असार २०७५, मंगलवार १७:१६
फाइल तस्वीर

विराटनगर / प्रदेश सभा सांसद सुयर्माराज राईले फेरी पनि चिसाङ खोला खन्न आए स्थानीय जनता रगत बगाउन तयार रहेको बताएका छन् ।

सांसद राईले कानेपोखरी रंगेली सडक निर्माणको नाममा यसअघि पनि उत्खनन् भएको तर उत्खनन गरेर निकालिएको सामाग्री क्रसर ब्यवसायी भीम पौडेलले भारत लगेर बेचेको आरोप लगाउँदै पुन सडक निर्माणका नाममा अन्य व्यवसायीलाई छाडेर पौडेललाई नै खोला दोहन गर्न दिने कोशिस भईरहेको बताएका छन् ।,

कानेपोखरी रंगेली सडकका लागि निर्माण ब्यवसायी टेन्डी शेर्पाले टेन्टर पारेपनि सो सडक खण्डका लागि शेर्पाले पौडेललाई जिम्मा लगाएकोमा पौडेलले शेर्पालाई झुक्याएर सामाग्री भारत लगेर बेचेको सांसद राईले जिकीर समेत गरेका छन् ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा हेरिएको सो सडकका लागि आवश्यक ढुंगागिट्टी ब्यवसायी पौडेलले भारत लगेर बेचेपछि शेर्पाले बाटोको काम सक्न दवाव दिएपछि अहिले पौडेल शक्ति केन्द्र देखि मुख्यमन्त्री सम्मलाई मिलाएर फेरि खोला दोहनको वाटो बनाउन सकृय बनेको पनि उनले आरोप लगाएका छन् ।

सांसद राईले कानेपोखरी गाउँपालिकाका अध्यक्ष र रङ्गेली नगरपालिकाका मेयर बाटो बनाउन खोला उत्खनन गर्न दिनुपर्छ भन्दै ब्यवसायी पौडेलको पक्षमा लबिङ गर्न गृहमन्त्रीकोमा पुगेको आँफुसँग सुचना आईपुगेको भन्दै सांसद राईले ब्यवसायी पौडेलको प्रलोभनमा अध्यक्ष र मेयर फसिसकेको जिकीर समेत गरेका छन् ।

एउटै प्रयोजनका लागि ब्यवसायी पौडेलले पटक पटक खोला खन्न पाउनुहुन्न भन्दा जिल्ला समन्वय समिति मोरङ्गका संयोजक नरेश पोखरेलले कानेपोखरीमा भएको सरसफाई सम्बन्धि कार्यक्रममा आँफुलाई बिकास बिरोधी भनेर चरित्रहत्या गरेको पनि सांसद राईले बताएका छन् । उनले पोखरेल व्यवसायी पौडेलसँग मिलेर गलत काम छोप्न र उनलाई कारवाहीवाट बचाउन लागि परेको समेत दावी गरेका छन् ।

कानेपोखरीको कार्यक्रममा गाउँपालिकाका अध्यक्षको डिजाइन अनि ब्यवसायी पौडेलको इशारामा जिसस संयोजक पोख्रेललाई ल्याएर बाटो बनाउन नदिएको भन्दै विकास विरोधी भनेर आफ्नो चरीत्र हत्या गर्ने खेल भएको पुष्टि भईसकेको समेत सांसद राईले बताएका छन् ।

सांसद राईले ब्यवसायी पौडेलले नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का नेता शिवकुमार मण्डल, नेपाली कांग्रेस मोरङ्गका नेता अमृत अर्याललगायतलाई पनि प्रयोग गर्दै चिसाङ्ग खोला खन्न पाउनुपर्ने भन्दै लविङ्ग गरिरहेको भन्दै मण्डल र अर्यालले समेत खोला खन्न पाउनुपर्छ भन्ने बिषयमा लविङ्ग गरिरहेको दावी समेत गरेका छन् ।

उनले नियमविपरीत खोला दोहन र मापदण्ड विपरीतका क्रसर संचालन गरेको भनेर विवादमा तानिएका पौडेललाई नै बचाउने अनि फेरि पनि खोला दोहन गरेर भारत सम्म लगेर बिक्री गर्ने काम मिलाए जनताको साथमा आफुले अभियान थाल्ने समेत उनले बताएका छन् । यदि मुख्यमन्त्री वा प्रधानमन्त्री कसैले चिसाङ्ग खोला खन्न अनुमति दिएमा सो क्षेत्रका जनता र आँफु खोला बचाउनका लागि रगत बगाउन तयार रहेको भन्दै उनले सेना, पुलिस राखेर खोला खनेरै छाड्ने सपना नदेख्न पनि व्यवसायी पौडेल र उनलाई साथ दिंदै आर्थिक चलखेल गर्न पल्केका नेताहरुलाई चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५