पूर्वाञ्चल खबर
समूहमा डेनमार्कको ४ अंक र अस्ट्रेलियाको १ अंक भएको छ । अब अस्ट्रेलियाले समूह चरणको अन्तिम खेलमा पेरुसँग खेल्नेछ । पेरुलाई पराजित गरे अस्ट्रेलियाको दोस्रो चरण पुग्ने सम्भावना हुनेछ । फ्रान्ससँग खेल्ने डेनकार्कका लागि दोस्रो चरणमा पुग्न बराबरी काफी छ ।
खेलको ७ ओं मिनेटमा डेनमार्कका लागि क्रिष्टियन इरिकसनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । त्यो अग्रता ३१ मिनेटसम्म मात्रै टिक्यो । ३८ औं मिनेटमा अस्ट्रेलियाका मिल जेडिनकले पेनाल्टीबाट गोल गर्दै खेल बराबरीमा फर्काए ।
डेनमार्कका खेलाडीले डिबक्स भित्र ह्यान्ड गरेको भन्दै अस्ट्रेलियाले पेनाल्टी अपिल गरेको थियो । त्यसपछि भएको भिएआर रिभ्यूमा अस्ट्रेलियाले पेनाल्टी पाएको मौकाको सदुपयोग गर्दै जेडिनकले गोल गरेका थिए ।
फ्रान्ससँग पहिलो खेल २–१ ले गुमाएको अस्ट्रेलियाले डेनमार्कसँग बराबरी खेलेसँगै अघिल्लो चरणको सम्भावना कायमै राखेको छ । डेनमार्कले पहिलो खेलमा पेरुलाई १–० ले हराएको थियो ।
डेनमार्क सन् २०१६ को अक्टोवर ११ मा मोन्टेनेग्रोसँग १–० ले पराजित भएपछि अहिलेसम्मका कुनै खेल हारेको छैन । डेनमार्कको अपराजित खेल यात्रा १७ पुगिसकेको छ । जसमा ९ खेल जितेको छ भने ८ खेल बराबरी भएको छ ।
यो समूहको अर्को खेलमा आज राति फ्रान्स र पेरुबीच प्रतिस्पर्धा हुनेछ । जित हात पारे फ्रान्स दोस्रो चरणमा पुग्नेछ । पेरुलाई दोस्रो चरणमा पुग्ने आसा कायम राख्न फ्रान्सलाई हराउनु पर्ने दबाव छ ।