पूर्वाञ्चल खबर
आइतबार पनि मुलुकभरिका शैक्षिक संस्थामा पढाइ ठप्प भयो । स्कुल जान निस्केका विद्यार्थीहरू बीचबाटोबाटै घर फर्कन बाध्य भए । राजनीतिक रूपमा आफूलाई स्थापित गराउन विभिन्न बहाना बनाएर विद्यार्थी संगठनहरूले आन्दोलन गर्ने गरेका छन् । झन्डै ८० लाख विद्यार्थीलाई पढाइबाट वञ्चित गराउने गरी भएको हडतालप्रति सरकार भने बेखबर जस्तै बन्यो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आइतबारको शैक्षिक संस्था हडतालको जिम्मा गृह मन्त्रालयतिर पन्छाए । ‘आजको बन्द कार्यकर्ता रिहाइको विषय भएका कारण गृह मन्त्रालयसँग सम्बन्धित छ’, मन्त्री पोखरेलले भने, ‘तर शैक्षिक संस्था बन्द भएका कारण हामीलाई चिन्ता चाहिँ लागेको छ ।’
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युुनिस्ट पार्टी निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले गरेको बन्दका कारण लाखौँ विद्यार्थी र अभिभावक प्रभावित भए । शैक्षिक संस्था सञ्चालकहरूले सरकारले सुरक्षा दिन नसकेका कारण विद्यालय बन्द गर्नु परेको बताए ।
समाचार अनुसार ३ महिनामा ३ पटक शैक्षिक हडताल भइसकेको छ । वैशाख २२ मा विप्लव नेतृत्वको नेकपाले हामअडताल गरेर बन्द हुन पुगेको विद्यालय जेठ २२ गते अनेरास्ववियूको हडतालले बन्द भएको थियो । असार ३ गते पनि विप्लवनिकट अखिल क्रान्तिकारीले आफ्ना नेता तथा कार्यकर्ता पक्राउ गरिएको भन्दै शैक्षिक संस्थालाई नै निशाना बनायो ।
विद्यालय सञ्चालकहरु असुरक्षाका कारण हडताल आह्वान पालना गर्न बाध्य छन् । सरकारले सुरक्षा नदिँदा जोखिम मोलेर विद्यालय सञ्चालन गर्न कठिन भएको प्याब्सनका वरिष्ठ उपाध्यक्ष डीके ढुंगानाले बताए। कागजमा विद्यालय शान्ति क्षेत्र भनिएको छ, कार्यान्वयन शून्य छ । यस्ता बन्दहडताल सरकारको निरीहताको परिणाम भएको उपाध्यक्ष ढुंगानाले भने ।आजको अन्नपूर्ण दैनिकले यो समाचार छापेको छ ।