सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका फरार अभियुक्तहरु धमाधम आत्मसमर्पण गर्दै, छिरिङ पुर्पक्षको लागि जेल चलान

खबर पूर्वाञ्चल, २१ जेष्ठ २०७५, सोमबार ०५:५०

विराटनगर / ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा संलग्न भनिएका फरार अभियुक्त छिरिङ वाङ्गेल (घले) पुर्पक्षको लागि जेल चलान भएका छन् ।

आइतबार मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका घलेलाई अदालतका न्यायधिस नारायणप्रसाद शर्माको इजालसले पुर्पक्षको लागि जेल पठाएको हो ।

मोरङका प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार कार्यालय खुलेलगत्तै घलेले आत्मसमर्पण गरेका थिए । त्यसपछि अदालतले उनको बयान लिएको थियो । बयानपछि थुनछेक बहस भएकोमा अदालतले पुर्पक्षको लागि थुनामा पठाएको हो ।

छिरिङको पक्षमा वरिष्ठ अधिवक्ता विश्व भट्टराई र अधिवक्ता सरोज अधिकारीले बहस गर्नुभएको थियो । वादी नेपाल सरकारको तर्फबाट जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले बहस गर्नुभएको थियो । उनलाई जिल्ला कारागार मोरङ पठाइएको छ । छिरिङलाई संगठित अपराध निवारण ऐन, २०७० को दफा ४१ तथा मुलुकी ऐन अ.ब. ११८ को देहाय २ का आधारमा पुर्पक्षका लाथि थुनामा राख्न आदेश आएको मोरङ अदालतका निमिक्त श्रेस्तेदार केदारप्रसाद रिजालले जानकारी दिए ।

अभियुक्त छिरिङ सुनकाण्डका अर्का अभियुक्त भनिएका राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङका नातामा सालो भएको बताइएको छ । सुन काण्डका मुख्य अभियुक्त चुँडामणी उप्रेती गोरेले छिरिङ पनि सुन तस्करीमा संलग्न रहेको बयान दिएका थिए । यसअघि गत बिहीबार सुन काण्डमा मुछिएका एसएसपी श्याम खत्रीले पनि अदालतसामु आत्मसमर्पण गरेका थिए ।

अदालतलाई दिएको बयानमा घलेले घटनामा संलग्नता नरहेको भन्दै इन्कारी बयान दिएका छन् । उनले आफूमाथि लागेको सबै आभियोग अस्वीकार गरेका छन् । भुजुङ गुरुङ नाताले भिजानु पर्ने भएपनि सुन तस्करीमा आफ्नो संलग्नता नभएको उनले बताएका छन् ।

मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेसँग भने चिनजान नै नभएको घलेले दाबी गरेका छन् । जबकी गोरेले सुन तस्करीको नेपालमा सेटिङ मिलाउने मुख्य व्यक्ति छिरिङ भएको र उनकै मातहतमा बसेर आफूले भरियाको नेतृत्व गरेको बयान दिएका थिए ।

छिरिङले भने आफू सुन तस्करीमा संलग्नै नभएको दाबी गरेका छन् । साढे ३३ किलो सुन हराएपछि भने गोरे र उनका केटाहरुलाई दुई पटक बोलाएर सोधपुछ गरेको स्वीकार गरेका छन् । तिलगंगा नजिकै एक होटलमा भएको सोधपुछका क्रममा गोरेकै दबावमा आफूले भुजुङलाई फोन गरेको उनको बयान छ ।

गोरे समूहका मानिसहरुले भन्ने गरेको डा.डेविट आफू नभएको दाबी गर्दै छिरिङले गोरेले अदालतमा उसको समूहका मानिसलाई बचाएर आपूmलाई फसाउन खोजेको बताएका छन् । छिरिङले भुजुङसँग हाइड्रोको शेयरमा भने आफूले कारोबार गरेको स्वीकार गरेका छन् । यो खबर आजको जनविद्रोह दैनिकले मुख्य समाचार बनाएर छापेको छ ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५