खबर पूर्वाञ्चल
१ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीको नेतृत्वमा गएकोे अनुगमन टोलीले अवैध उत्खनन् भएको पाएको हो ।
उर्लाबारीको वडा नम्बर ४ को सोल्टी खोला, उर्लाबारी १ को मिक्लु खोलामा अवैध उत्खनन् भएको तथा उर्लाबारी ७ मा रहेको वन व्यापक फडानी भएको अनुगमन टोलीले फेला पारेको हो । अनुगमनमा मन्त्री कार्कीसहित प्रदेशसभा सांसद कुशल लिम्बू, मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलगायतको सहभागीता थियो ।
प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले वातावरणीय परीक्षण नगरेको स्थानबाट सोल्टी खोलामा ठेकेदार कम्पनीले ढुंगा गिट्टी उत्खनन् गरेको र विक्री गरेको पाइएको बताए। उनका अनुसार खोलामा थुप्रिएको गिट्टी बालुवा साइड गर्न अनुमति दिइएको भएपनि सामाग्री विक्री वितरण गर्न दिइएको थिएन ।
तर, उक्त ठेकेदार कम्पनीले ढुंगा गिट्टी व्यापक मात्रामा बिक्री गरेको स्थानीय सरकारी प्रतिनिधि र जनप्रतिनिधिले जानकारी दिएको आचार्यले बताए। ‘विक्री गरेको रसिदको खोजी गरि पाइएको खण्डमा तुरुन्त ठेक्का प्रक्रिया रद्ध गर्न मैले सम्बन्धीत निकायमा आवश्यक निर्देशन दिएको छु,’ आचार्यले भने, ‘च्यानलाइजका नाममा गिट्टी बालुवा बिक्री गरेको पाइएको छ ।’ उक्त ठेकेदार कम्पनीका मालिक इटहरीका व्यवसायी भीम पौडेल हुन् ।
स्रोतका अनुसार सोल्टी खोलामा मापदण्ड विपरीत ३ किलोमिटरसम्म ढुंगा गिट्टी उत्खनन् गरेको र विक्री गरिएको छ । यस्तै मिक्लु खोलामा पनि ५ सय मिटरसम्म अवैध ढंगले ढुंगा गिट्टी निकालेर विक्री गर्ने गरेको पाइएको छ । यस्तै उर्लाबारी ७ मा ३ विगाहा क्षेत्रफलमा रहेको आमा मिलन केन्द्रको नीजि जंगल फडानीको नाममा सरकारी पर्ती जग्गाका रुख पनि कटान गरेको पाइएको बताइएको छ ।
‘नीजि जंगल फडानी गर्न वन कार्यालयको अनुमति पनि लिएको देखिएन,’ स्रोतले भन्यो, ‘सरकारी पर्ती जग्गाका रुख कटान गरेको उजुरी पनि परेको छ ।’ प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार नीजि जंगलको नाममा सरकारी जग्गाका रुख काटिएको विषयमा अनुगमन गर्न जिल्ला वन र स्थानीय सरकारी निकायलाई निर्देशन दिइएको छ । त्यस्तो पाइए जो सुकैलाई कारबाहीको दायरामा ल्याइने उनले बताए । यो समाचार आजको जनविद्रोह दैनिकमा छ ।