खबर पूर्वाञ्चल
जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराए पछि र नेदरल्याण्डले हङकङलाई ४४ रनले हराएपछि नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाउन सफल भएको हो ।
नेपालले अबको ४ वर्षसम्म एकदिवसीय मान्यता पाउने छ । एकदिवसीय मान्यता पाएसँगै नेपालको क्रिकेटमा आइसीसीले अहिले गर्दै आएको भन्दा ठूलो सहयोग गर्नेछ भने निरन्तर रुपमा नेपाली क्रिकेट टिमले आइसीसीले खेलाउने विभिन्न खेलहरुमा सहभागिता जनाउन पाउने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको २२ वर्षपछि नेपालले प्राप्त गरेको यो सबैभन्दा ठूलो सफलता हो। सन् २०१० मा डिभिजन–५ मा रहेको नेपालले ८ वर्षको अन्तरमा ठूलो फड्को मारेको हो।
जिम्बावेमा भइरहेको छनोटमा सहभागि एसोसिट ६ मध्ये ४ टिमलाई सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता दिने आइसिसीले निर्णय गरेको हो। डब्लुसिएल च्याम्पियनसिपको विजेताले नेदरल्यान्ड्सले स्वत: एकदिवसीय मान्यता पाएको थियो। स्कटल्यान्ड र युएईले सुपर–६ मा स्थान पक्का गर्दै एकदिवसीय मान्यता पक्का गरिसकेका छन्। नेपालले पपुवा न्युगिनीलाई पराजित गर्दै सातौं स्थानको प्ले अफमा स्थान पक्का गरेर एकदिवसीय मान्यता पाएको हो।
एकदिवसीय मान्यता लागू भने छनोट प्रतियोगिता सकिएपछि हुनेछ।
अब नेपालले शनिबार सातौं स्थानका लागि शनिबार नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।
यता पपुवा न्युगिनी र हङकङले भने एकदिवसीय मान्यता गुमाउनुका साथै डिभिजन–२ मा झरेका छन्। डिभिजन–२ झरेका हङकङ र पपुवा न्युगिनीबीच नवौं स्थानको प्लेअफमा प्रतिस्पर्धा हुनेछ।