पूर्वाञ्चल खबर
६८ वर्षको कम्युनिस्ट पार्टी इतिहासमा यी दुई नेताको पाँच दशकभन्दा बढी फरक स्कुलिङ थियो। तर, सोमबार राजनीतिमा ‘आइसब्रेक’ गर्दै यी दुई नेताले एमाले र माओवादीलाई एउटै पार्टी बनाउँदै ‘शक्तिशाली कम्युनिस्ट केन्द्र निर्माण’ को संयुक्त नेतृत्व नै लिए।
ओली-दाहाल दुवै राजनीतिको केन्द्रमा रहने र राजनीतिलाई आफूमा केन्द्रीकरण गर्न चाहने नेता हुन्। हुर्काइ, वर्ग धरातल र राजनीतिक पृष्ठभूमि नै फरक देखिएका यी दुई नेताको ‘चामत्कारिक’ मिलाप हुन्छ भन्ने ६ महिना अगाडिसम्म कसैले सोचेको थिएन।
आरोप-प्रत्यारोप र घोचपेचका कटु यथार्थ यी दुई नेताका सम्बन्ध थिए। ओली दाहाललाई ‘अस्थिर’ नेताको आरोप लगाउँथे भने दाहाल ओलीलाई पश्चगामी र ‘नक्कली राष्ट्रवादी’ भन्न पछि पर्दैनथे।
ओलीको दुःख, दाहालको सोखिन बाल्यकाल
ओली-दाहाल दुवैका पृष्ठभूमि, रहनसहन, स्वभाव फरक छन्। ओलीको बाल्यकाल दुःखैदुःखमा बितेको छ। अर्काको घरमा गोठालो बसेर उनले बाल्यकालको शिक्षा लिएका थिए। तर, दाहालले ओलीले बाल्यकालमा गरेजस्तो संघर्ष गर्नुपरेन। सानै उमेरदेखि नै अत्यन्त सफाचट (आइरन लगाएर टलक्क टल्काएको लुगा) लगाएर हिँड्ने दाहालको सोख पहिलेदेखि नै थियो। उनलाई पढ्नका लागि दुःख गर्नुपरेन।
कृषिमा बीएसस्सी गरेर एमपिएसम्म दाहालले अध्ययन गरेका छन् तर ओलीले उच्च शिक्षा पढेका छैनन्। उनले त्यसरी पढ्ने अवसर पनि पाएनन्। दाहाल चितवन, गोरखालगायत विभिन्न विद्यालयमा केही समय अध्यापनमा पनि सहभागी भएका थिए।
ओलीका छोरा-छोरी छैनन्। दाहालका एक छोरा र तीन छोरीमध्ये एक्ला छोरा प्रकाशको मंसिर ३ मा हृदयाघातका कारण ३६ वर्षको उमेरमा निधन भयो भने जेठी छोरी पनि केही वर्षअघि क्यान्सरका कारण बितिन्। अहिले दाहालका रेणु र गंगा दुई छोरी छन्। रेणु भरतपुर महानगरकी मेयर हुन्।
ओली दाहालभन्दा ३४ महिना जेठा
ओलीभन्दा दाहाल ३४ महिनाले कान्छा छन्। ओली २००८ फागुनमा झापामा जन्मिएका हुन्। दाहाल भने २०११ मंसिरमा कास्कीमा। दाहालभन्दा ओलीले उमेरमा मात्र होइन, कम्युनिस्ट पार्टीको सदस्यताप्राप्त गर्नेमा पनि पहिलो नै छन्।
उनले २०२६ सालमा संगठित सदस्यता लिँदै माक्र्सवादी अध्ययन दलमा संगठित भएका थिए। दाहालले भने ओलीले कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेको दुई वर्षपछाडि मात्रै ०२८ सालमा नेकपा पुष्पलाल समूहबाट कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए।
पार्टी सदस्यता लिनु अगाडिदेखि नै यी दुई नेताको वैचारिक-राजनीतिक स्कुलिङ फरक थियो। तर, दुवैको हतियारबद्ध संघर्षको नेतृत्व गरेरै आएको पृष्ठभूमि छ। २०२७ सालको झापा आन्दोलन (वर्ग शत्रु खत्तम अभियान) का नेतामध्येकै एक हुन् ओली। ओलीले ०२७ सालमै थालेको हतियारबद्ध संघर्षको नेतृत्व ०५२ सालमा पुगेर दाहालले लिएका थिए।
पहिलो भेट : भारतको सिलिगुडीमा
ओली-दाहालबीच ३० को दशकमै कम्युनिस्ट पार्टीको सदस्यता लिएर राजनीति गरे पनि प्रत्यक्ष भेट हुन भने अर्को ३० वर्ष कुर्नुपरेको थियो। यी दुई नेताबीच २०५९ सालमा मात्रै प्रत्यक्ष भेट भई संवाद भएको थियो, त्यो पनि नेपालमा नभई भारतको सिलिगुडीमा।
नेपालका सबैजसो वाम पार्टीलाई संविधानसभाको एजेन्डामा सहमत गराउने उद्देश्यले माओवादीले त्यसबेला सिलिगुडीमा दुई दिनसम्म बृहत् कम्युनिस्टको वार्ता र संवाद चलाएको थियो। त्यहीबेला ओली-दाहालबीच सिलिगुडीमा प्रत्यक्ष भेट र संवाद भएको थियो। यो खबर अन्नपूर्णमा छ ।