RUMPUM
animated ellipse animated ellipse

एउटै मञ्चबाट क्याबिनेटको घोषणा : १ नं. १ नम्बर नै हुन्छ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ फाल्गुन २०७४, आईतवार २०:०७
3
Shares
मुख्यमन्त्री शेरधन राईलाई सम्मान गरेपछी फोटो खिचाउँदै सारडा र उपाध्यय । तस्वीर-पुष्पराज थपलिया/खबर पूर्वाञ्चल
विराटनगर, ६ फागुन/ १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले विराटनगरको भित्री तथा बाहिरी सडकको अवस्था तत्काल सुधार गर्नु पर्ने बताए ।

विराटनगरमा आज उद्योग संगठन मोरङ र मोरङ व्यापार संगठनले संयुक्त रुपमा गरेको मुख्यमन्त्री तथा मन्त्रीहरुको स्वागत कार्यक्रममा बोल्दै राईले प्रदेशको राजधानीको यस्तो बताएका हुन् । ‘जतातजै अस्तव्यस्त छ, राजधानी तोकिएको छ, यस्तो हुनु हुँदैन,’ मुख्यमन्त्री राईले भने, ‘सडक सुशासन लागू गर्नु पर्छ, मूल सडक होस् या भित्री सडक होस् यसको व्यवस्थापन आवश्यक छ ।’ राईले फुटपाथका बजार पसलको व्यवस्थापन गराउन आवश्यक भएको उनले बताए ।

थोरै किलोमिटरमा भएपनि सडक सुशासन लागू गर्ने बताउँदै राईले विराटनगर–रानी–किमाथांका सडक निर्माण पहिलो प्राथमिकता रहेको बताए । कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको बनाइने बताए । ‘विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको बनाउनु पर्छ, १ नम्बर प्रदेशका सबै जिल्लामा यहाँबाट हवाइ सेवा दिने गरी क्षमता विस्तार गर्नु आवश्यक छ,’ मुख्यमन्त्री राईले भने । उनले १ नम्बर प्रदेशको उर्जाक्षेत्रको विकासका लागि तत्कालिन र दीर्घकालिन समाधान खोजीने बताए । ‘हाल भइरहेको विद्युत् चुहावट नियन्त्रण गर्न तत्काल पहल हुनेछ,’ राईले भने, ‘कृषि, पर्यटन, जलस्रोत, उद्योग र व्यापारलाई जग बनाएर मात्रै समृद्धि आउँछ भन्ने कुरामा हामी प्रष्ट छौं ।’ मुख्यमन्त्री राईले प्रदेश सरकार नीजि क्षेत्रसँग नियमित संवाद र छलफल गरेर अगाडि बढ्ने बताए ।

कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानून मन्त्रालयका मन्त्री हिक्मत कार्कीले १ नम्बर प्रदेशमा शान्ति सुरक्षा कायम गर्ने र लगानीको वातावरण निर्माण गर्न आवश्यक कानून बनाउने कुरामा आफू प्रतिबद्ध रहेको बताए । ‘अबको सरकारले ४० अरब बराबरको कृषि वस्तु आयात रोक्नुपर्छ,’ उनले भने, ‘पाँच वर्षभित्र विकासका आधारभूत संरचना निर्माण गरिसक्ने र २०÷२५ वर्षभित्रमा सबैभन्दा समृद्ध प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले आर्थिक विकास र समृद्धिका लागि आफू नीजि क्षेत्रसँग सँधै छलफलमा रहेर काम गर्ने बताए । संघीयताको विषयमा आर्थिक भार बढी पर्ने र संकट हुने विषय सार्वजनिक भइरहेको भन्दै उनले त्यस्तो संकटलाई रोक्न र संघीयतालाई समृद्धिको पर्याय बनाउन लाग्ने बताए । १ नम्बर प्रदेशमा ३४ हजार मेगावाट विद्युत् उत्पादन गर्नसक्ने क्षमता रहेको उल्लेख गर्दै आङ्बोले काम कारबाहीमा निष्पक्षता कायम गर्ने, चुहावट नियन्त्रण गर्ने र करको दायरा फराकिलो बनाइने जानकारी दिए ।

कार्यक्रममा बोल्दै समाजिक विकास मन्त्री जीवन घिमिरेले दक्ष जनशक्ति उत्पादनका लागि आफू तयार रहेको बताए । ‘उद्योग धन्दा स्थापना गर्नका लागि यहाँ कति जनशक्ति चाहिन्छ,’ घिमिरेले भने, ‘त्यसको लागि ५ वर्ष कुर्नुहोस् कति डाक्टर, कति इन्जिनियर मेरो जिम्मा भयो ।’

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसियतले प्रदेशलाई उन्नत र समुन्नत बनाउनका लागि आफू प्रतिबद्ध भएको बताए । उनले यहाँको उद्योगको विकास, जडिबुटीको प्रयोगमा ध्यान दिइने प्रतिबद्धता व्यक्त गरे । ‘दिगो औद्योगिक विकासका लागि ऐन, कानून निर्माण गर्ने, निर्यातको सहज वातावरण सिर्जना गर्ने, जडिबुटी, वनको उचित प्रयोग गर्ने कुरामा हाम्रो ध्यान जानेछ, ‘कुशियतले भने, ‘रोजगारी सिर्जना गर्ने र प्रत्येक नेपालीको आयस्तर वृद्धि गर्ने मेरो प्रतिबद्धता रहनेछ ।’

कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले अस्थायी राजधानीलाई स्थायी बनाउनु पर्ने बताए । यसका साथै प्रदेशको पूर्वाधार विकास, जलस्रोत, पर्यटनलगायतको क्षेत्रमा लगानीको वातावरण बनाउन सरकारसमक्ष आग्रह पनि गरे ।

कार्यक्रममा बोल्दै मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले पूर्वाधार विकास, पर्यटन क्षेत्रको विकास, कृषिको आधुनिकीकरण, उर्जा क्षेत्रको विकास र औद्योगिक वातावरण निर्माण गर्न माग गरे । उनले कोशी उच्च बाँध निर्माण गरेर कलकत्ता बन्दरगाहासँग जलयातायात जोड्नु पर्ने बताए । १ नम्बर प्रदेशको व्यापार घाटा वर्षैपिच्छे बढिरहेको बताउँदै सारडाले आगामि ५ वर्षभित्रमा व्यापार घाटा कम गर्ने खालका योजना प्रदेश सरकारले ल्याउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर