खबर पूर्वाञ्चल
प्रदेश प्रमुख प्रा.डा.गोविन्दबहादुर तुम्वाङले राईलाई शपथग्रहण गराएका थिए । यस्ता छन् प्रदेश १ का मन्त्रीहरु ।
को हुन् मुख्यमन्त्री शेरधन राई ?
२०२७ साल फागुन ११ गते आमचोक गाउँपालिका भोजपुरमा जन्मिएका शेरधन राईले २०४४ सालदेखि विद्यार्थी राजनीति गरेका हुन् । बुबा जागिरमान राई तथा आमा राम्रीमाया राईको कोखबाट जन्मिएका उनी भलिबल खेलाडी पनि हुन् ।
समाजशास्त्रमा स्नातकोत्तर गरेका राईले तीन वर्ष भूमिगत जीवन बिताएका छन् । एमाले वैकल्पिक पोलिटव्युरो सदस्य रहेका राई प्रदेश १ का सह–संयोजक हुन् । ०४७ सालमा पार्टीको सदस्यता लिएका राईले त्यसपछि २ पटक सम्म विद्यार्थी संगठनको पूर्वाञ्चल प्रमुख भएर काम गरे । त्यसपछि भोजपुर जिल्लाको पार्टी कमिटिमा निर्विरोध चयन हुँदै ४ पटक भूमिका निर्वाह गरे । ‘भोजपुर जिल्लाको इतिहासमा म नै निर्विरोध निर्वाचित भएको एउटा मात्रै पात्र हुँ,’ राईले भने, ‘पदाधिकारी लेबलमा लामो समय काम गर्ने र उत्कृष्ट काम गरेको म नै हुँ ।’
२०५४ सालमा एमाले विभाजन हुँदा होस् या ०६२÷०६३ सालपछि भएको पहिलो संविधानसभा पछि अशोक राईहरुले पार्टी छाड्दा पनि अविचलित भएर राई एमालेमै रहिरहे । ०५६ सालको निर्वाचनमा सबैभन्दा कान्छो सांसदको रुपमा २७ वर्षमै राज्यको निति निर्माण गर्ने तहमा पुगेका राई ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि भोजपुरको २ नम्बर क्षेत्रबाट विजयी भएका थिए ।
संविधानसभामा रहँदा सुशासन समितिमा रहेर काम गरेका राई केपी ओली नेतृत्वको सरकारका पालामा उत्कृष्ट सञ्चारमन्त्री भएर काम गरेको सबैले बताउँछन् । ‘सरकारको सफल सञ्चारमन्त्रीको रुपमा मैले काम गरेको थिएँ,’ उनले भने, ‘मेरा सबै कार्यकाल सफलतापूर्वक सम्पन्न भएका छन् ।’
गाउँमै ७ कक्षासम्म अध्ययन गरेका राईले भोजपुरको घोडेटारमा रहेको सगरमाथा माविबाट एसएलसी, भोजपुर बहुमुखी क्याम्पसबाट स्नातक र काठमाडौंको पाटन क्याम्पसबाट एमएसम्मको अध्ययन गरेका छन् ।
को हुन् प्रदेशका अर्थमन्त्री

पाँचथरबाट प्रदेशसभामा निर्वाचित माओवादी केन्द्रका सचिबालय सदस्य रहेका आङ्बोले अर्थसहित माओवादीबाट सरकारको नेतृत्व गरेका हुन् । पाँचथरको फिदिम नगरपालिकामा २०३९ साउन २९ मा जन्मिएका इन्द्र १८ वर्षको उमेरमा माओवादी जनयुद्धमा सामेल भएका थिए ।
२०५६ देखि माओवादीमा पूर्णकालिन भएर भुमिगत राजनीति सुरु गरेका इन्द्र पार्टीको जनमुक्ति सेनाको व्रिगेड कमाण्डरसम्म भए । पार्टीको एरिया कमिटी र जिल्ला कमिटी सदस्य हुँदै क्षेत्रीय व्युरो सदस्यको जिम्मेवारी निर्वाह गरेका उनी २०५८ मा पाँचथरको जनसरकारको सदस्यसमेत रहेका थिए ।
जनयुद्धमा सैन्य मोर्चाको जिम्मेवारी सम्हालेपछि प्लाटुन कमाण्डर, बटालिन कमाण्डर हुँदै ब्रिगेड कमाण्डरसमेत भएका उनको इलामको देउराली, बन्दुके चौकी, गोपेटार, पशुपतिनगर, हतुवागढी, भोजपुर, झापाको बिर्तामोड र काँकडभिट्टा लगायतका स्थानका माओवादी जनमुक्ति सेनाले गरेको आक्रमणमा नेतृत्वदायी सहभागिता थियो । पार्टीमा युवाहरुबीच लोकप्रिय र प्रखर नेताका रुपमा चिनिने उनले प्रदेश सरकारको कान्छो मन्त्रीको रुपमा अर्थ
मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
मन्त्रीको सपथपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री आङ्बोले प्रदेशका स्रोत र साधनको सही सदुपयोग र परिचालन गरेर प्रदेशको चौतर्फी विकासमा ध्यान दिने बताएका छन् ।
हिक्मत कार्की

कार्कीले कानुनमा स्नातकोत्तर गरेका छन् । मन्त्रीको सपथ गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री कार्कीले १ नम्बरमा रहेको प्र्रदेशलाई नाम जस्तै १ नम्बर बनाउने बताए । प्रदेशमा शान्ति सुरक्षा कायम गरी अगाडि बढाउने आफ्नो पहिलो प्राथामिकता रहेको उनले बताए । साथै प्रदेशलाई आवश्यक पर्ने कानुन निर्माण गर्न लागिपर्ने उनको भनाइ छ ।
जीवन घिमिरे

मन्त्री पदको सपथ लिएपछि घिमिरेले प्र्रदेशलाई समृद्ध बनाउन लागिपर्ने बताए । आफ्नो मन्त्रालयमा परेको शिक्षा, स्वास्थ्य जस्ता विषयमा आम जनताको पहुँच स्थापित गर्न आपूm लागिपर्ने उनको भनाइ छ ।

२०१६ सालमा जन्मिएका सुनसरीका जगदिश कुशियत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा नियुक्त भएका छन् । २०३७ सालदेखि विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका कुशियत पार्टीको विभिन्न पदमा रही अहिले मन्त्री भएका हुन् । मन्त्रीको सपथ ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले १ नम्बर प्रदेशमा रहेको पर्यटकीय संभावनाको खोजी गरी प्रदेशको समृद्धिमा ध्यान दिने बताए ।