उर्लाबारी, १० जेठ /उर्लाबारीमा बुधबारदेखि १५ दिने प्राचिन मुर्ति संरक्षण तालिम सुरू भएको छ ।
नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको आयोजना तथा नेपाल बौद्ध गुम्बा उर्लाबारीको व्यवस्थापनमा उर्लाबारी–५ स्थित नेपाल बौद्ध गुम्बामा तालिम सुरू भएको हो ।
आज एक कार्यक्रमका बीच कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका सदस्य दीपेन्द्र लामाले तालिमको उद्घाटन गरे । यस प्रकारको तालिमले संस्कृति तथा परम्पराको संरक्षणमा सहयोग पुग्ने प्रमुख अतिथि लामाले बताए ।
गुम्बा विकास समितिका उपसचिव मणिराज गुरूङले तालिमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रमका उर्लाबारी नगरपालिकाका कार्यकारी अधिकृत अम्बिकाप्रसाद चौलागाई लगायतले मन्तव्य राखेका थिए । उद्घाटन कार्यक्रम नेपाल बौद्ध गुम्बाका अध्यक्ष महेन्द्रजंग तामाङको सभापतित्वमा भएको थियो ।
जेठ २४ गतेसम्म सञ्चालन हुने तालिममा पूर्वका विभिन्न ६ जिल्लाका २२ जनाको सहभागिता रहेको र खाइवा निमा तामाङ लामाले सहजीकरण गर्नुहुने गुम्बाका अध्यक्ष महेन्द्रजंग तामाङले बताए ।