CLASSICTECH NET

मोरङ व्यापार संघको निर्वाचन, अध्यक्षमा सारडा भन्दा राउत बलियो

खबर पूर्वाञ्चल, २३ बैशाख २०७४, शनिबार २०:५०
विराटनगर, २३ बैशाख / मोरङ व्यापार संघको ३१ औ कार्य समितिकालागि निर्वाचन नै हुने भएको छ । विभिन्न स्वार्थका कारण दुई समूहमा विभाजित व्यवसायीहरुबीच नयाँ नेतृत्वकालागि निर्वाचन हुने पक्का भएको हो ।
सर्वसम्मत नेतृत्वकालागि पूर्व अध्यक्षहरुले निरन्तर गरेको पहल असफल भएपछि आइतवार नयाँ नेतृत्वकालागि निर्वाचन हुने पक्का भएको हो । शुक्रबार उम्मेदवारी फिर्ता लिने अन्तिम समयसम्म पनि समझदारी नभएपछि निर्वाचन हुने पक्का भएको हो । आइतबार प्रोक्सी मतदाताबाट निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।
मोरङ व्यापार संघका पूर्वअध्यक्ष, वर्तमान अध्यक्ष र केही पदाधिकारीहरुसहितको विभिन्न छलफल तथा अनौपचारिक छलफलमा राजेन्द्र राउतलाई अध्यक्ष र प्रकाश मुन्दडालाई वरिष्ठ उपाध्यक्ष बनाउने पुरानो सहमति तोडिएपछि चुनावी माहोल तातेको हो ।
अहिलेका अध्यक्ष पवनकुमार सारडाले सहमतिका लागि पर्याप्त पहल नगरी आफू नै अध्यक्ष हुने तयारी गर्दै मनोनयन दर्ता गरेपछि सहमतिको सबै ढोका बन्द भएको बताइएको छ । भद्र सहमतिलाई बेवास्ता गरेर सहमतिको प्रयासलाई पाखा लगाएको वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतको भनाइ छ । अहिले पनि आफू सहमतिको प्रयासमा रहेको उनको भनाइ छ ।
अन्ततः राउत समूह र मुन्दडा समूहमा विभाजित मोरङ व्यापार संघमा सारडा मुन्दडाको सहमतिमा अध्यक्ष बन्ने तयारीमा लागेका छन् । सारडाले अनुभवी र युवा पुस्तालाई साथमा लिएर आफू चुनावी मैदानमा उत्रिएको बताए । यता, महासचिव प्रकाश मुन्दडाले भने चुनाव लोकतान्त्रिक पद्धति भएकाले यसबाट आएको परिणामले व्यापारीहरुको हकहित हुने बताए ।
संघमा वाणिज्य क्षेत्रबाट ८ जना र उद्योग क्षेत्रबाट ८ जना सदस्य निर्वाचित हुन्छन् । त्यस्तै वस्तुगत क्षेत्रबाट दुईजना र शाखाहरुबाट एक जना निर्वाचित हुन्छन् । यी सदस्यहरुबाट अध्यक्ष र पदाधिकारी बन्ने प्रावधान रहेको छ ।
उद्योग क्षेत्रमा राउत समूह बलियो छ भने वाणिज्य क्षेत्रमा सारडा समूह बलियो छ । उद्योगबाट उम्मेदवारी दिएका देवकीनन्दन अग्रवाल, विजेन्द्र परासर, रविनकुमार दाहाल, रमेशकुमार राठी, सुवास आचार्य र श्रवणकुमार अग्रवाल खुलेर राउतको पक्षमा लागेका छन् ।
त्यस्तै अनिल सारडा, अनुपम राठी, देवाशिष गोल्छा, पवनकुमार सारडा, पवन राठी, ललित बोहरा, सारडा समूहमा छन् ।
अहिलेको कार्यसमितिमा रहेका सुनिल टिवडेवाल केही समयअघि राउत समूहमा भएपनि अहिले खेमा परिवर्तन गरेर सारडाको नजिक पुगेको बताइएको छ । त्यस्तै वाणिज्य क्षेत्रमा दशजना उम्मेदवार छन् । त्यसमा सारडा समूहका प्रकाश मुन्दडासहित अनिलकुमार साह, नविन रिजाल, पियुष तोदी, विकासकुमार बेगवानी, मनिष मारु, मुकेशकुमार राठी र सुशीलकुमार जोशी छन् । सन्तोष चौधरी र कृष्णकुमार लोहिया कसैको पक्षमा खुलेका छैनन् ।
बर्तमान सचिव रहेका अनिलकुमार साह केही अघिसम्म राउतकै पक्षमा देखिन्थे । अहिले उनी कित्ता परिवर्तन गरी अर्को समूहमा गएका छन । दुबै पक्षको दाबी अनुसार उद्योग क्षेत्रमा राउत समूह र वाणिज्य क्षेत्रमा सारडा समूहका प्रतिनिधिहरु विजयी हुनेछन् । तर, दुवै समूह दुवैतिर खेलेर आफ्ना पल्ला भारी बनाउने कसरतमा लागेका छन् ।

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५