विराटनगर, १९ वैशाख / देश निर्वाचनमा होमिरहेको अवस्थामा विराटनगरको ग्रेडेड सेकेण्डरी बोर्डिङ स्कूलमा भने प्रत्यक्ष निर्वाचनबाट विद्यार्थीहरुले आफ्नो लिडर छानेका छन् ।
स्कूल परिसरमा मंगलबार भएको ‘स्टुडेन्ट क्वालिटी सर्कल’ नाम दिएर क्याप्टेन तथा मनिटर छनौट गरिएको हो ।
स्कूल क्याप्टेनमा छात्र तर्फबाट कक्षा दशका सुरज खड्का निर्विरोध चयन भएका छन् भने छात्रा तर्फ स्कूल क्याप्टेनमा १ सय १० मत ल्याएर कक्षा दशकी सिम्रन बस्नेत निर्वाचित भएकी छन् ।
स्कूलको जुनियर क्याप्टेनमा छात्र तर्फबाट कक्षा नौंका नविन मण्डल र छात्रा तर्फबाट कक्षा नौं कै नेहा साह भएकी छिन् ।
निर्वाचित हुनेमा स्कूल क्याप्टेन र जुनियर क्याप्टेनलाई कक्षा ८, ९ र १० कक्षाका विद्यार्थीहरुले भोट हालेका थिए ।
स्कूलले प्रत्येक कक्षामा कक्षा मनिटर छनौट गर्दै आएको छ । किताबी ज्ञानसँगै साना विद्यार्थीहरुलाई लोकतान्त्रिक अभ्यास गराउने उद्देश्यले प्रत्यक्ष निर्वाचनमा सहभागी जनाएर आफ्नो लिडर चयन गर्ने गरेको स्कूलका प्रिन्सिपल प्रेमलाल सिंह सुवालले बताए । स्कूलले प्रत्येक वर्ष यसरी नै निर्वाचन पद्धतिबाट स्कूल क्याप्टेन तथा मनिटरहरु चयन गर्दै आएको छ ।
कक्षा ३ देखि १० सम्म अध्ययनरत विद्यायार्थीहरुले आ–आफ्नो कक्षामा मनिटर चयन गरेका छन् ।