मोर्चा सहभागि भए निर्वाचनमा दुई चरणमा निर्वाचन हुने–थापा
पूर्वाञ्चल खबर
९ बैशाख २०७४, शनिबार १५:४८
3
Shares
विराटनगर, ९ बैशाख । उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले मधेसी मोर्चालाई समेत निर्वाचनमा सहभागी गराउन दुई चरणमा निर्वाचन हुन सक्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज स्थानिय सञ्चारकर्मीसंग कुरा गर्दै उप प्रधानमन्त्री थापाले मधेसी मोर्चाले स्थानीय तहको संख्या बढाउनु पर्ने माग राखेकाले उनीहरुसँग सहमति भए बैशाख ३१ गते नै सबै क्षेत्रमा निर्वाचन हुने स्थिति नरहेको बताए । उनले एकै चरणमा निर्वाचन नहुने अवस्थामा केही जिल्लामा जेठ मसान्त भित्र दोश्रो चरणमा निर्वाचन गराउने गरी सहमति हुन सक्ने पनि जानकारी दिए ।
उप प्रधानमन्त्री थापाले मधेसी मोर्चासँग सहमति हुनु अघि प्रमुख प्रतिपक्षी दल एमालेको सहमति लिनु पर्ने धारणा व्यक्त गर्दै सरकार सबैको सहमति र सहभागितामा निर्वाचन गराउने वातावरण निर्माण गर्न लागेको जानकारी समेत दिए ।
एक प्रश्नको जवाफमा उपप्रधानमन्त्री थापाले स्थानीय तहलाई दिईसकेको अधिकार खोस्न नहुने स्पष्ट पार्दै राष्ट्रियसभाको निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिलाई पनि अधिकार दिनु पर्ने धारणा राख्दै नेपाल सरकारको सरकारी कामकाजको भाषा नेपाली हुनुपर्ने र प्रदेशमा बहुभाषिक भाषा राख्न सकिने पनि स्पष्ट पारे ।