विराटनगर, ५ वैशाख / मोरङको झोराहाटस्थित सौजन्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं वार्षिकोत्सवका अवसरमा आज झोराहाट बजारको सरसफाई गरिएको छ । सरसफाई अभियानको समाजसेवी बाबुराजा ओझाले उद्घाटन गरेका थिए ।
बालबालिकाका क्षेत्रमा कार्य गर्दै आएको वल्र्डभिजन इन्टरनेशनल नेपाल मोरङ–सुनसरी क्षेत्र विकास कार्यक्रमको सहयोगमा बजारको सरसफाई गरिएको हो । समाजसेवी ओझाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहकारीका अध्यक्ष हरिनारायण चौधरीलाई वल्र्डभिजनका फिल्ड संयोजक भुवन बजगाईंले फोहोर व्यवस्थापनका लागि १० थान कन्टेनर हस्तान्तरण गरेका थिए । सो अवसरमा झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाईं, ग्रामथान गाउँपालिकाका कार्यकारी अधिकृत लीलाराम बास्तोलालगायतले स्थानीय सहकारीसँग मिलेर वल्र्डभिजनले झोराहाटलाई सफा र स्वच्छ राख्न गरेको सहयोगको प्रशंसा गरे ।
फिल्ड संयोजक बजगाईंका अनुसार मोरङकै पिडारमनी चौक, स्थानीय स्वास्थ्य चौकी र सिध्राहामा फोहोर व्यवस्थापनका लागि कन्टेनर हस्तान्तरण गरिएको छ । वल्र्डभिजनकै सहयोगमा भोलि झोराहाटमै सरसफाइसम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिने बजगाईंले जानकारी दिए ।