विराटनगर, ५ वैशाख / मोरङको टंकीसिनवारीमा बिहीबारदेखि सुरु हुने बुढीगंगा कृषि तथा औद्योगिक महोत्सव २०७४ को तयारी पूरा भएको छ ।
स्थानिय स्वतन्त्र युवा समाज नेपालको आयोजनामा वैशाख ७ देखि १६ गतेसम्म बुढीगंगा गाउँपालिका २ मा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको हो ।
स्थानिय स्तरमा उत्पादन भएको कृषि तथा औद्योगिक क्षेत्रबाट उत्पादन भएको वस्तुको प्रर्वद्धन गर्ने उद्देश्यले १० दिने महोत्सव आयोजना गरिएको समाजको अध्यक्ष प्रभाकर राना मगरले जानकारी दिए । ‘बुढीगंगाको पहिचान हाम्रो अभियान’ भन्ने मुल नाराको साथ सुरु हुने महोत्सवमा कृषि जन्यवस्तुदेखि औद्योगिक क्षेत्रबाट उत्पादन भएको बस्तु गरी ३० वटा स्टल बुक भएको छ ।
महोत्सवमा अटोमोवाइल्स, साना तथा घरेलु उत्पादन र हस्तका सामाग्री, सूचना प्रविधि तथा मोवाइल, शैक्षिक, वैंक तथा वित्तिय संस्था, होटल तथा रेष्टुरेन्टको परिकारहरु महोत्सवमा रहनेछ । त्यस्तै महोत्सवमा विभिन्न जातिय समूहको जातिय पहिचान झल्किने जातिय पहिरनको समेत स्टलमा रहनेछ ।
महोत्सवलाई थप आकषर्ण बनाउने लागि दैनिक रुपमा राष्ट्रिय स्तरका कलाकारहरुबाट साँस्कृतिक कार्यक्रम रहने आयोजकले जनाएको छ ।
महोत्सवमा गायिका तथा मोडल ज्योती मगर, गायक शिव परियार, सुगम पोखरेल, गायिका इन्दिरा जोशी, निलिमा राई तथा हास्यकलाकारहरुको प्रस्तुती रहनेछ ।