AArya
RUMPUM
animated ellipse animated ellipse

आन्तरिक पर्यटकको रोजाई बन्दै बेतिनी सिमसार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ बैशाख २०७४, आईतवार २०:१४
3
Shares
सरोज बस्नेत
उर्लाबारी, ३ बैशाख/पूर्वपश्चिम राजमार्ग अन्तरगत मोरङको उर्लाबारी–३, मंगलबारे चौकबाट करिब दुई किलोमिटर उत्तर चारकोशे जंगलभित्र अवस्थित रहेको छ, बेतिनी सीमसार ।
17974601_1315400001874968_1237494920_nउर्लाबारी–२ स्थित बेतिनी सामुदायिक वनको हाताभित्र ३५ हेक्टरमा फैलिएको उक्त सीमसारलाई ब्यवस्थित पयर्टकीय स्थलमा रुपमा रुपान्तरण भइरहेको छ । उर्लाबारी नगरपालिकाले दोस्रो स्थापना दिवसको सन्दर्भमा नगरलाई ‘सीमसारयुक्त पर्यटकीय नगर’ घोषणा गरिएको थियो । सोही अनुरुप नै सीमसारलाई ब्यवस्थित पर्यटकीय स्थल बनाउने जमर्को भएको हो ।
सीमसार क्षेत्रमा तारजाली, पक्की शौचालय, चौतारा, सडक ग्राभेललगायतका कार्य सम्पन्न भइसकेका छन् भने वनकै हाताभित्र बाल उद्यान निर्माण पनि निर्माणको क्रममा छ । यस्तै, सिमसार क्षेत्रमा रहेको पोखरीको पश्चिम भागमा अवस्थित डाँडामा तीनवटा बाघको प्रतिमा राखिएको छ । सिमसार क्षेत्रमा पर्यटकहरूलाई आकर्षण गर्ने हेतुले बाघको प्रतिमा राखिएको बेतिनी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कृष्णप्रसाद दाहालले बताए ।
उनका अनुसार उर्लाबारी नगरपालिकाले बाघको प्रतिमा निर्माणका लागि साढे ३ लाख रुपैयाँ नगद उपलब्ध गराएको थियो । उक्त प्रतिमामा एउटा बाघ, बघेनी र डमरू रहेको उनले जानकारी दिएका छन् । पूर्व क्षेत्रका सीमसारहरूमा बाघको प्रतिमा नरहेको तथा बाघ संरक्षणमा यस्तो प्रतिमाले भूमिका निर्वाह गर्ने अध्यक्ष दाहालको भनाई छ । सो प्रतिमा इटहरीका कलाकार विक्रमश्रीले निर्माण गरेको हुन् ।
बाघको प्रतिमा राखेसँग सीमसार क्षेत्र प्रवेशका लागि टिकटको ब्यवस्था गरेको अध्यक्ष दाहालले बताएका छन् । सीमसारलाई ब्यवस्थित बनाउन प्रवेश शुल्क प्रतिब्यक्ति १० रुपैयाँ तोकिएको उनले जनाएका छन् । एकान्त र सुन्दर वातावरण रहेका कारण पर्यटकहरुको आकर्षणका केन्द्र बन्ने उनको भनाई छ । ‘हामीले सीमसारलाई पूर्वकै नमूना पयर्टकीय स्थल बनाउने जमर्को गरिरहेका छौं’ उनले भने–‘अझै सीमसारलाई ब्यवस्थित बनाउन बाँकी नै छ ।’ उर्लाबारी नगरपालिकाले पनि सीमसारको विकास प्राथमिकता दिइरहेका कारण सहज बनेको उनले बताएका छन् ।
सीमसारको ३३ करोडको गुरु योजना तयार भइसकेको उनले जानकारी दिएका छन् । हाल दुई वटा पोखरी रहेका छन् भने अर्को पोखरी निर्माण गर्ने समितिको योजना छ । पोखरीमा डुबेर मृत्यु हुनेको संख्या बढेपछि दुई वटै पोखरीमा अहिले पौडी खेल्न रोक लगाइएको छ । पौडी पारखीहरुका लागि ब्यवस्थित रुपमा अर्को पोखरी निर्माण गर्ने योजना भइरहेको जनाइएको छ ।
उर्लाबारी नगरपालिकाको सहयोगमा वन समितिकै अग्रसरतामा गत बैशाखदेखि सीमसार क्षेत्रलाई पयर्टकीय स्थल बनाउने काम थालिएको थियो । गत आर्थिक बर्षमा उर्लाबारी नगरपालिकाले १० लाख सीमसार ब्यवस्थापन र १० लाख बाल उद्यानमा छुट्याएको थियो भने चालु आर्थिक बर्षमा ३ लाख रुपैयाँ छुट्याएको छ । त्यस्तै, आगामी आर्थिक बर्षका लागि ६ लाख रुपैयाँ छुट्याएको जनाइएको छ ।
२०६३ सालदेखि नै सीमसारलाई पयर्टकीय क्षेत्र बनाउने भन्दै बेतिनी सीमसार तथा मिक्लाजुङ पर्यटन एकीकृत विकास संघ गठन गरिएको भएपनि पोखरी निर्माणबाहेक अन्य केही उपलब्धिमूलक काम गर्न सकेन । छुट्टीको समयमा सीमसार क्षेत्रमा वनभोज र घुम्नका लागिसमेत आन्तरिक पर्यटकहरु आउने गरेका छन् ।
यतिबेला बाघको प्रतिमा हेर्न र फोटो खिच्नकै लागि भएपनि सीमसारसम्म आन्तरिक पर्यटकहरु आउन थालेका छन् ।
उक्त सीमसार क्षेत्रमा बेत, सर्पगन्धा, हर्राे, अमला, लहरे,टिम्बुर, सुनाखरी जस्ता वनस्पतिहरू पाइन्छन् । चराचुरुङ्गीहरूमा मैना, लुइँचे, धनेश, मयूर, बट्टाई, हाँडिफोर, बकुल्लालगायत पाइन्छन् । यसैगरी उक्त स्थान आसपास मृग, हरिण, चितुवा, बँदेल, दुम्सी, सालक, वन विरालो, गोहोरो, अंजिगर लगायत जीवजन्तुहरु पाइन्छ भने वेद, सर्पगन्धा, कवै, चाप, सीमसाग, भुईचम्पा, ओरेसा, सुनाखरी, लौढ सल्लाजस्ता लोपन्मुख वनस्पतिहरु समेत रहेका छन् । थुप्रै प्रकारका स–साना जीवजन्तुहरु समेत यहाँ देख्न पाइन्छ ।
सुन्दर र एकान्त वातावरणमा रहेको कारण पनि पर्यटकहरुका लागि पहिलो रोजाईमा बेतिनी सीमसार पर्ने गरेको स्थानीय युवा मनोज बुढाथोकी बताए । सीमसारलाई अझै व्यवस्थित रुपमा अगाडि वढाउन सकिए आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन सकिने थुप्रै सम्भावनाहरु रहेको उनको धारणा रहेको छ । उक्त सीमसार पर्यटकीय केन्द्रका साथै विद्यार्थीहरुको लागि अध्ययन गर्ने थलोको रुपमा बन्न सक्ने भएकाले त्यसको संरक्षण र विकास गर्न आवश्यक छ । साथै प्रेमजोडीहरुका लागि पनि राम्रो ‘डटिङ’ स्पोट बनिरहेको छ, बेतिनी सीमसार ।
सीमसार बर्खाको भेलवाडीमा समेत पानी नधमिलिने तथा जुनै मौसममा पनि पानी घटवढ नहुने अनौठो बिशेषता उक्त सीमसारको रहेको बताइन्छ । पोखरीलाई अझ व्यवस्थित र विस्तार गरी डुंगा सयर, वनभोज स्थलमा टहरा, पानीजस्ता पूर्वाधार विकास गर्ने हो भने उक्त स्थान अझ आकर्षणको केन्द्र बन्ने स्थानीयले बताएका छन् ।
वरीपरी चारकोशे जंगलले घेरेको सो सीमसारको उचित विकास गर्न सके मोरङकै उत्कृष्ट पर्यटकीय गन्तव्य स्थल वन्न सक्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर