खबर पूर्वाञ्चल
तपाई पनि उमेदवार बन्ने कुरा चर्चामा छ । तर, तपाईलाई त स्थानीय कार्यकर्ताले भन्दा धुम्बाराही मुख्यालयले नजिकबाट चिन्छ, भन्छन नि ?
दलीय व्यवस्थामा जनअभिमतका लागि तहगत कुनै पनि चुनाव स्वभाविक र नियमित पक्ष हो । लोकतन्त्रले चुनावलाई आफ्नो सुन्दर गहनाको रूपमा स्वीकार्छ । चुनावी सरगर्मी बढेको बेला कुनै एउटा राजनीतिक दलसम्बद्ध कार्यकर्ताको नाम उमेदवारको रूपमा उठ्नु स्वभाविक हो । हुर्केको छोरा–छोरीको विवाह हुने कुरा चल्नु, छोरा भए बुहारीको खोजविन हुनु, छोरी भए ज्वाँईको तलास हुनु अनौठो कुरा हो र ? हो यस्तै मात्र हो– यो चर्चा । रह्यो कुरा– मेरो बारेमा कहाँ के भनिन्छ भन्ने । हाम्रो पार्टीको केन्द्रीय मुख्यालय नै धुम्बाराही भएकाले पार्टीका हामी कुनै पनि कार्यकर्तालाई धुम्बाराहीसँग जोड्ने कुरालाई असजिलो मान्न भएन । अन्ततः हामी सबैको पार्टी कामको अभिलेख पनि त यही रहने गर्छ नि ! फेरी अर्कोतिर– विगतमा स्थानीय पार्टी सङ्गठनात्मक जीवन प्रणालीसँग जोडिएर मेरो कुनै तोकिएको जिम्मेवारी रहेन । बरू, पार्टीका केन्द्रीय काममा धेरथोर भूमिका निर्वाह गरेकाले मुख्यालयले चिन्ने कुरा स्वभाविक हो भन्ने लाग्छ ।
पार्टीको कुन–कुन तहमा बसेर काम गर्नुभयो ?
२०४५ को अन्त्यतिर अनेरास्ववियु (एकताको पाँचौं) भनिन्थ्यो, म त्यो बेला सम्पर्क र सम्बन्ध बिस्तारका क्रममा जोडिएँ । मेरो आजको राजनीतिक यात्राको प्रारम्भिक आधार यही हो । अध्ययनको सिलसिलामा २०४९ मा भारत गएँ । यहाँ प्रवासिएका लाखौं नेपाली समुदायमाझ पार्टी काम गर्न पार्टीका दुइटा केन्द्रीय जनसङ्गठनहरू क्रियाशील छन् । अनेरास्ववियुको सम्पर्कमा अभानेस्ववियुको सदस्य लिएँ । क्रमशः जिम्मेवारी लिँदै जानेक्रममा केन्द्रीय सदस्य, सचिव, महासचिव र अध्यक्ष भएर बिदा भएँ । नियमित पठनपाठनको अवस्था अन्त्य भएपछि प्रवासी नेपाली संघ भारतको केन्द्रीय कार्यालय सचिव र महासचिवको भूमिकामा रहें । पार्टीका देशभित्र क्रियाशील १४–१५ वटा अञ्चल कमिटी सरहको भारत प्रवास समन्वय कमिटी थियो । म त्यसको सदस्य, सचिवालय सदस्य रहें । यहीबीचमा पार्टीको बिदेश विभागमा रहें । पार्टीको सम्पन्न ऐतिहासिक नवौं राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय कमिटीको उमेदवार थिएँ । केही मतान्तरले पराजित भएँ ।
मेयरको टिकटका लागि धेरै जना आंकाङ्क्षी देखिएका छन् ? के छ नि त्यस्तो आकर्षण ?
यसका केही कारणहरू छन् । पहिलो कुरा, राजनीतिक परिवर्तनले तहगत संरचना र समग्र व्यवस्थामा समेत परिवर्तन ल्याइदिएको छ । परिवर्तित यस सन्दर्भमा पार्टी कामका दौरान प्राप्त गरेको सामाजिक जीवनको सुक्ष्म ज्ञान, शिक्षा, योग्यता–क्षमता, अनुभव आदिलाई समृद्ध समाज निर्माण एवं व्यवस्थापनका लागि प्रयोग गर्न पाऊ भन्ने स्वभाविक महत्वाकाङ्क्षा जागृत भएको छ । दोस्रो कुरा, झण्डै दुई दशकदेखि स्थानीय निकाय निर्वाचन भइरहेको छैन । २०७४ बैसाखमा यो आयोजना गरिँदै छ । यसबीचमा उत्पादित राजनीतिक कार्यकर्ताहरूको खपत वा व्यवस्थापन हुन पाएको छैन । एक ढङ्गले राजनीतिक रोजगारीको अवसर बल्ल सिर्जना हुँदै छ । यस्तो अवस्थामा एउटै पदीय जिम्मेवारीका लागि धेरै जना आंकाङ्क्षी देखिनु स्वभाविक कुरा हो, यसमा एमालेजस्तो पार्टीका लागि त कुरै भएन । यसलाई अन्यथा लिनु भएन । बरू, विधिसम्मत व्यवस्थापन गर्नुपर्छ ।
एमालेले तपाईलाई उमेदवार बनाउनु पर्ने कारण भनिदिनु न ?
कारणहरू धेरै हुन सक्छन् । यद्यपि, यसबारे पार्टीभित्र कुनै गृहकार्य भएको छैन । पार्टीको एउटा आचारविधि बनेपछि यसबारे छलफल होला । मलाई लाग्छ– विश्वविद्यालयीय शिक्षाका अतिरिक्त मैले पार्टी कामका सन्दर्भमा देश–बिदेशमा आर्जन गरेको ज्ञान र अनुभवको समोचित प्रयोग गर्न, निर्विघ्न निर्णय क्षमता प्रयोग गर्न, हरेक राजनीतिक घटना–परिघटनाका निर्णायक आशलाग्दा युवा जनमतको सम्मान गर्न, परिवर्तनकारी युवाहरूको भावनाको प्रतिनिधित्व गर्न गराउन, औसत अध्ययनपछि पनि नियमित आय आम्दानीमूलक कामसँग सङ्लग्न नरही एउटा पूर्णकालीन कार्यकर्ताको रूपमा खट्ने कार्यकर्तालाई राजकीय कामको सन्दर्भमा अवसरमुखी जिम्मेवारी प्रदान गर्न, ठूला कुनै पनि पार्टीहरू पथरी शहरबजार केन्द्रीत छन् भन्ने आमबुझाई चिर्न, पार्टी हुने–खाने कथित शहरियाको मात्र भयो भन्ने ढङ्गले यदाकदा देखिने भ्रम चिर्न, ग्रामिण भेगमा उत्पादित कार्यकर्ताको मनोवल बढाउन पनि पार्टीले मलाई टिकट दिन्छ जस्तो लाग्छ ।
चुनाव जित्ने कुरामा कतिको विश्वस्त हुनुहुन्छ ?
शतप्रतिशत । विगतका अभ्यासहरूलाई हेर्दा पनि यो एमालेको पकड क्षेत्र हो । यसमा एमाले अध्यक्ष एवं पूर्वप्रम केपी शर्मा ओलीको प्रधानमन्त्रीत्वकालमा एमालेले कमाएको जनविश्वासका कारण हाम्रो पार्टीप्रति बढ्दो लोकप्रियता र जनताको घरदैलोसम्म पार्टीको सङ्गठन, सम्पर्क र खँदिलो सम्बन्ध भएका कारण एमालेको उमेदवारले चुनाव जित्ने कुरामा कुनै द्विविधै छैन ।
मेयर जित्नु भयो भने पथरीशनिश्चरे नगरमा गर्ने पहिलो काम के हो ?
पहिलो काम, शहरबजारको वैज्ञानिक व्यवस्थापन, स्थानीय शहरबजारको सौन्दर्यीकरण, सुकुम्बासी समस्या अन्त्यका लागि ऐन कानुनमार्फत वैज्ञानिक विधिसम्मत् समाधान, स्थानीय स्रोत–साधनमाथि स्थानीय नागरिकको स्वामित्व कायम, प्रशासनिक कामका क्षेत्रलाई राहत अनुभूति हुने गरी सहजता र सुगमता निर्धारण, शान्ति सुरक्षाको पहरेदारी, ‘सुन्दर पथरीशनिश्चरे ः समृद्ध पथरीशनिश्चरे’ निर्माणका लागि पञ्चवर्षीय गुरू योजना तर्जुमा आदि ।
अन्त्यमा केही ?
ठीकै छ । माहौल बन्दै गएको छ । धेरै हतारिनु पनि हुन्न । तथापि, धेरै कुरा यसमाथि नै पनि आए । एउटा कुराचाँही के हो भने यो चुनाव नियमित हुने अन्य चुनावजस्तो पक्कै होइन । यो २०४७ सालको संविधान कार्यान्वयनको बेला होइन । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई प्रतिबिम्बित गर्ने यस चुनावपछिको परिणामले स्थानीय निकायका नागरिकलाई अधिकार सम्पन्न बनाउँछ । एक ढङ्गले यो निर्वाचनले स्थानीय सरकार गठन गर्छ । ‘पार्टीको सेवा गरेको, समानुपातिकमा परेको’ शैलीमा बुझिन हुँदैन । अमुक जात, धर्म, समुदाय, भेग आदिको प्रतिधिनित्व गर्ने गराउने बहानामा कमजोर मानिस त्यहाँ पठाएर संरचनालाई निष्प्रभावी र प्रतित्युपादक तुल्याउन हुन्न । मेयरका लागि कोही मेयर बन्ला ! तर, स्थानीय जनअपेक्षा अनुसारको सेवा, सुविधा र लाभका पक्षहरू राज्यको तर्फबाट हामीले दिन सकेनौं भने राजनीतिक व्यवस्थाप्रति नै अनास्था बढ्छ, अनि के होला ! गम्भीर हुन जरूरी छ, हामी सबै जिम्मेवारले अत्यन्तै ठूलो जिम्मेवारीबोधका साथ हेक्का राख्नु जरूरी छ । सन्दर्भ अनुसार समय दिनुभयो, धन्यवाद !
प्रस्तुति – हरि कोइराला/गोपाल काफ्ले