विराटनगर, ११ चैत तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारसितको वार्ता सकारात्मक हुँदै गएको बताएका छन् ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले दलहरुबीचको वार्ता केही सकारात्मक जस्तो देखिएको भए पनि संविधान संशोधनका बारेमा आफूहरु पछि हट्न नसक्ने बताएका हुन् । संशोधनको बारेमा छलफल भए पनि सीमांकनसहितको संशोधन आवश्यक रहेको उनको भनाइ थियो ।
उनले संविधान संशोधनमा सीमांकनको विषयमा पछि नहट्ने स्पष्ट पारे । अध्यक्ष ठाकुरले संविधानमा देखिएको त्रुटिहरुलाई संशोधन गराए आफूहरु निर्वाचनका लागि बाधक नहुने स्पष्ट पारे । ठाकुरले जनताका मागलाई उपेक्षा गरेर निर्वाचन गरिए जनताबाटै सो निर्वाचन बहिष्कार हुने दाबी समेत गरे ।
संविधान संशोधन गरिए सबै राजनीतिक समस्या समाधान हुने ठाकुरको भनाइ थियो ।