मधेसी मोर्चालाई निर्वाचनमा सहभागी हुन आग्रह-उपप्रधानमन्त्री थापा
खबर पूर्वाञ्चल
६ चैत्र २०७३, आईतवार १२:५२
3
Shares
फाइल तस्वीर
विराटनगर, ६ चैत / उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचनमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सहभागी हुन आह्वान गरेका छन् ।
विराटनगर विमानस्थलमा आज स्थानिय सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री थापाले अहिले सहमति हुन सक्ने विषयमा सहमति गर्न र अन्य विषयमा भविष्यमा सहमति हुने गरी मध्यमार्गी बाटो अपनाएर निर्वाचनमा सहभागी हुन मोर्चालाई आह्वान गरेका हुन् ।
सरकारले चुनाव गराउनको लागि कुनै कसर वाकी नराख्ने भन्दै मन्त्री थापाले भने, ‘मुलुकमा पहिलो पल्ट स्थानीय सरकारको चुनाव हुँदैछ, यसमा मधेसवादी दलको पनि सहभागीता आवश्यक छ । त्यसतर्फ सरकारले वातावरण तयार गर्न प्रयासरत छ ।’
उनले चुनाव सुनिश्चित गर्न आफू सरकारमा सहभागी भएको पनि वताए । ‘सरकार निर्वाचनको लागि तयारी गरेको छ । राजनीतिक दलहरु निर्वाचनतर्फ उन्मुख भइसकेका छन्’ उनले भने, ‘निर्वाचन आयोग तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन युद्धस्तरमा काम गरिरहेको छ । अब चुनाव नहुने अवस्था छैन ।’
उपप्रधानमन्त्री थापाले स्थानीय तहको सङ्ख्या, आकार परिवर्तन मात्रै नभई नयाँ संरचनानुसार स्थानीय तह बढी अधिकारसम्पन्न भएको पनि स्पष्ट पारे । वैशाख ३१ गते हुने निर्वाचन सम्पन्न गर्न सरकारले पनि तयारी तीव्र रुपमा गरेको उल्लेख गर्दै उनले निर्वाचन निर्धारित समयमै हुने बताए । उनले निर्वाचन आयोगले आफ्ना पार्टीको नीतिमा निषेध गरेका विषय स्वीकार नभएको स्पष्ट गर्दै सो विषयमा औपचारिक रुपमा आयोगलाई ज्ञापनपत्र बुझाउने तयारी भइरहेको जानकारी गराए ।
स्थानीय तहको चुनावलाई सफल वनाउन स्थानीय तहलाई परिचालन गरिएको भन्दै उनले आफू त्यसको अनुगमनका लागि सुनसरी र मोरङ जिल्लाको दौडाहामा निस्किएको वताए ।
उपप्रधानमन्त्री थापाले संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्र पार्टीको मुख्य एजेण्डा भएको भनदै त्यसलाई हटाउने निर्वाचन आयोगले हटाउने निर्णय स्विकार्य नहुने बताए । उनले भने, ‘हाम्रो पार्टीको मर्म र भवनामा ठेस पुगेको छ । आयोगले तत्काल पुनविचार गरोस् । नत्र हामी जुनसुकै कदम चाल्न वाध्य हुन्छौं ।’