पूर्वाञ्चल खबर
विराटनगर, २५ फागुन /अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विराटनगरमा महिला सडक दौड प्रतियोगिताको आज आयोजना गरिएको छ ।
विराटनगर इनोभेटिभ लिओ क्लबको आयोजना र इनोमेटिभ लायन्स क्लबको सहआयोजनामा भएको कार्यक्रममा ३ सय बढी युवतीले सहभागिता जनाएका थिए । इनोभेटिभ लेडी रोड रनको नाममा आयोजना गरिएको कार्यक्रममा विराटनगरकी रोज पाण्डे प्रथम भएकी छिन् ।
यस्तै प्रतियोगितामा सीमा राजवंशी दोस्रो, निता लम्साल तेस्रो, करुणा राजवंशी चौथौ र अंशु लामा पाँचौ भएकी छिन् । उनीहरुलाई क्रमशः नगद ७ हजार ४ हजार ३ हजार २ हजार र १ हजार नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
महिला स्वास्थ्यलाई केन्द्रित गरेर कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष अनुपमा बास्तोलाले जानकारी दिइन् । कार्यक्रममा सहभागी युवतीहरुले आधुनिक गीतमा नाचेर मनोरञ्जनसमेत गरेका थिए ।