विराटनगर, २० फागुन / एमालेले झापाको काँकडभित्ताबाट भोलीदेखि सुरु गर्न लागेको मेची–महाकाली राष्ट्रिय अभियानका अगुवालाई मोरङका पाँच ठाउँमा स्वागत गरिने भएको छ ।
पूर्व पश्चिम राजमार्गमा पर्ने उर्लाबारी, पथरी, कानेपोखरी, बेलबारी र विराटचौकमा स्वागत गरिने एमाले मोरङले जनाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेललगायत टोलीको अगुवाई गर्ने र टोलीमा सहभागी भएकाहरुलाई स्वागत गरिने भएको हो ।
फुलमाला, झाँकी र सांस्कृतिक कार्यक्रममार्फत टोलीको स्वागत गरिने एमालेले जनाएको छ । विर्तामोडबाट सुुरु हुने अभियानको दोश्रो दिन अर्थात आगामी आइतबार अभियानमा हिंडेको टोली उर्लाबारीबाट मोरङ प्रवेश गर्ने छ । विर्तामोडबाट सुरु हुने अभियानको पहिलो दिन झापाकै दमकमा आएर टुँगिने छ ।
एमाले मोरङले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै अभियानलाई सफल पार्नका लागि मोरङमा सबै तयारी पूरा भएको जनाएको छ । एमाले मोरङ अध्यक्ष विनोद ढकालले पार्टीले सुरु गर्ने मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत मोरङ स्थित कोसीहरैंचा नगरपालिकाको विराटचौकमा भने बृहद आमसभा गरिने जानकारी दिए । त्यो सभालाई पार्टी अध्यक्ष ओली लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
उर्लाबारी, पथरी, कानेपोखरी र बेलबारीमा भने संक्षिप्त सभाको आयोजना गरिने ढकालको भनाइ छ । ढकालले एमाले समर्थक र सुभचिन्तक गरेर लाखौंको संख्यामा कार्यकर्तालाई स्वागत र सभामा उतार्ने तयारी गरिएको बताए । ढकालले अभियानका क्रममा मोरङमा आयोजना गरिने सभामा एक हजार गाडी, १० हजार मोटरसाइकल र एक लाख जनता उतार्ने तयारी एमालेले गरेको बताए ।