विराटनगर, माघ २९ / भाषण कला तथा नेतृत्व विकास सम्बन्धी विभिन्न तालिमहरुको आयोजना गर्दै आएको काठमाडौंको संस्था रुपान्तर र विराटनगरस्थित इमेज ग्यालरीको आयोजनामा विराटगरमा आज भाषण कला तालिम (पब्लिक स्पीकिङ् ट्रेनिङ्) सम्पन्न भएको छ ।
विराटनगरको स्कूल अफ इन्जिनियरिङ् एण्ड टेक्निकल साइन्समा आयोजित तालिममा विराटनगरका विभिन्न कलेजका युवा विद्यार्थी तथा स्थानीय युवा समूहका सदस्यहरु गरी ३२ जनाको सहभागि रहेको थियो ।
चर्चित टेलिभिजन प्रस्तोता तथा प्रशिक्षक रुपेश श्रेष्ठले भाषण कलाका विभिन्न आयामहरुबारे युवाहरुलाई तालिम दिएका थिए । देशका विभिन्न स्थानमा भाषण कला र नेतृत्व कलाबारे तालिम दिंदै आएका श्रेष्ठले युवाहरुलाई भाषण कलाको महत्व, विधि र प्रभावबारे जानकारी दिंदै तालिम दिएका थिए ।
स्थानीय विराटनगर स्पीकर्स क्लबको सहयोगमा सम्पन्न तालिम युवाहरुका लागि निकै प्रभावकारी रहेको आयोजक इमेज ग्यालरीका सुमन खड्काले जानकारी दिए । विराटनगर स्पीकर्स क्लबका अभिशेक भट्टराईले एक दिने तालिमपछि यस्ता तालिमको थप आवश्यकता महसुस भएको र आगामी दिनमा यस्तै कार्यक्रमहरु आयोजना गर्दै जाने बताए ।