झापा, माघ १८ / विभागीय टोली त्रिभुवन आर्मी झापामा जारी दोस्रो रमपम झापा गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ ।
झापाको विर्तामोडमा रहेको डोमालाल रंगशालामा भएको आजको खेलमा आर्मीले रुपन्देही–११ लाई २–० गोल अन्तरले पराजित गरी सेमिफाइनलको स्थान सुरक्षित गरेको हो । आर्मीको जीतमा नवयुग श्रेष्ठ र भरत खवासले गोल गरे ।
राष्ट्रिय खेलाडीले भरिएको आर्मीले सुरुवातदेखि नै रुपन्देहीलाई दबावमा राखे पनि गोल गर्न भने दोस्रो हाफ कुर्नु परेको थियो । ६० औं मिनेटमा विमल पाण्डेको पासलाई सदुपयोग गर्दै नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई अग्रता दिलाए ।
दोस्रो हाफको ६८औं मिनेटमा टेकबहादुर बुढाथोकीको लामो पासलाई सदुपयोग गर्दै आर्मी कप्तान भरत खवासले आर्मीको आग्रता दोब्बर पारे ।
खेल अवधिभर रुपन्देहीका गोलरक्षक दिलिप क्षेत्री निकै व्यस्त देखिन्थे ।
खेलको म्यान अफ द म्याच आर्मीका नवयुग श्रेष्ठ घोषित भए । उनलाई ७ हजार रुपैयाँ प्रदान गरियो ।
बुधबारको खेल आयोजक रमपम झापा–११ र सुदुरपश्चिम फुटबल क्लबबीच हुनेछ ।