पूर्वाञ्चल खबर
१३ पुस,विराटनगर / वृहत सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष क्रिकेटको आज भएको खेलमा मध्यमाञ्चल र एपिएफ विजयी भएका छन ।
मोरङको झापा बैजनाथपुरको खेल मैदानमा भएको समुह ख को लिग चरणको अन्तिम खेलमा मध्यमाञ्चलले नेपाल पुलिस क्लबलाई ९ रनले पराजित गरी समुह उपविजेताको हुदै अन्तिम चारमा प्रवेश गरेको छ । पराजित भए पनि नेट रन रेटमा पुलिस समुह विजेता हुदै सेमिफानमा प्रवेश गरेको हो पुलिस, मध्यमाञ्चल र पश्चिमाञ्चल सवैको समान ४ अंक रहेकोमा पुलिसले ३ खेलमा २ मा विजय र १ मा पराजयले ४ अंक , मध्यमाञ्चलले ३ खेलमा २ मा विजय र १ मा पराजयले ४ अंक र पश्चिमाञ्चलले पनि ३ खेलमा २ मा विजय र १ मा पराजयले ४ अंक रहेको थियो । रन रेटमा पुलिसको+०.९६७, मध्यमाञ्चलको+०.११६ र पश्चिमाञ्चलको –०.१ रहेको छ । रन रेटमा पछि परेको पश्चिमाञ्चल प्रतियागिताबाट बाहिरीएको छ ।
टस जितेर ब्याटिङ गरेको मध्यमाञ्चलले निर्धारित २० ओभरमा सवै विकेट गमाई १ सय २० रनको योगफल तयार पारेको थियो । मध्यमाञ्चलमा प्रकाश विष्टले २५ रन, हरीशंकर साहले २२ रन र हसिम अन्सारीले १४ रनको योगदान गरेका थिए ।
पुलिसका ललितसिंह भन्डारीले ३ ओभरमा २० रन दिए ३ विकेट तथा कुशल भुर्तेल र मन्जित श्रेष्ठले २–२ विकेट लिएका थिए ।
जवाफमा १ सय २१ रनको लक्ष्य पछ्याएको पुलिसले १९ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय ११ रन बनायोे । पुलिसका सुनिल धमलाले ४५ बलमा १ छक्का र ४ चौका गरी ४४ रन र योगेन्द्र कार्कीले २० रनको योगदान दिएका थिए । मध्यमाञ्चलका हरीशंकर साहले ४ ओभरमा १५ रन दिएर २ विकेट तथा शुसील कडेल, रुपेश श्रीवास्तव र हसिम अन्सारीले १–१ विकेट लिएका थिए ।
दोस्रो खेलमा यस अघिनै सेमीफाइनलमा प्रवेश गरीसकेको शसत्र प्रहरी बलको एपिएफिले आर्मीलाई २८ रनले पराजित गरी समुह विजेता हुदै अन्तिम चारमा प्रवेश गरेको छ यता पराजित भएपनि आर्मी उप विजेताका रुपमा सिेमीफाइनलमा पुगेको छ । टस जितेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ४ विकेट गमाई १ सय ६५ रन बनाएको छ । उपिएफका प्रदिप ऐरीले ४७ बलमा ६ चौका प्रहार गरी ४७ रन, करण केसीले २५ बलमा २ छक्का र ४ चौका प्रहार गरी ४६ रन र कप्तान पारस खडकाले २० रनको योगदान गरेका थिए । आर्मीका सागर पुन र सोमपाल कामीले १–१ विकेट लिएका थिए ।
जवाफमा १ सय ६६ रनको लक्ष्य पछ्याएको आर्मीले १७ दशमलव ५ बलमा सवै विकेट गमाई १ सय ३७ रनमात्र जोड्न सक्यो । आर्मीका सागर पुनले २७ बलमा २ छक्का र २ चौका प्रहार गरी ४६ रन र नरेश बढाऐरले ३७ बलमा २ छक्का र ३ चौका प्रहार गरी ४६ रन बनाएका थिए । एपिएफका भुवन कार्कीले ४ ओभरमा २१ रन २० दिएर ३ विकेट र वसन्त रेग्मीले ४ ओभरमा १८ रन दिएर २ विकेट लिएका थिए ।