साबित्रा चम्किएपछि माल्दिभ्सविरुद्ध नेपालको गोल वर्षा, उनले एक्लै ५ गोल गरिन्
पूर्वाञ्चल खबर
१३ पुष २०७३, बुधबार २१:०९
3
Shares
१३ पुस,काठमान्डौं / साबित्रा भण्डारी चम्किएपछि नेपालले महिला साफ च्याम्पियनसिप अन्तरगत माल्दिभ्सविरुद्ध उत्कृष्ट प्रर्दशन गरेको छ ।
माल्दिभ्सविरुद्ध जित हात पारेको नेपाल सेमिफाइनल नजिक पुगेको छ । नेपालले भारतको सिलगुढीमा जारी चौथो संस्करणको महिला साफ च्याम्पियनसिपमा माल्दिभ्सविरूद्ध गोलको वर्षा गरेको छ ।
आज साँझ कञ्चनजंघा रंगशालामा सम्पन्न भएको लिगको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ९–० गोल अन्तरले पराजित गरेको छ । नेपालका लागि साबित्रा भण्डारीले एक्लैले ५ गोल गरिन् । उनले पहिलो खेलमा भुटानविरुद्ध ह्याट्रिक गरेकी थिइन् ।
पहिलो हाफमा ३–० गोलले अगाडि रहेको नेपालले बाँकी गोल दोस्रो हाफमा गरेको हो ।
थप गोल सपना लामा, हिराकुमारी भुजेल, निर्मला विक र अन्जली वाइवाले गरेकी थिइन् ।
आजको जीतसँगै समूह ए मा रहेको नेपालले ६ अंकसहित शीर्ष स्थानमा मजबुत भएर बसेको छ भने नेपालसँग पराजित माल्दिभ्स ३ अंकसहित दोस्रो स्थानमा छ । अब नेपालले शनिबार श्रीलंकासँग अन्तिम लिग खेल खेल्नेछ । आजै भएको पहिलो खेलमा श्रीलंकाले भुटानलाई २–० ले हराएको छ ।