१० पुस,विराटनगर/ सुटिङको महिला १० मिटर एयर राइफलको दोश्रो दिनको खेलमा प्रहरीकी फुलमाया क्याप्छाकीले ४ सयमा ३ सय ८० अंक जोडिन् ।
प्रहरीकै अस्मिता राईले ३ सय ७६ अंक तथा आर्मीकी कल्पना परियारले ३ सय ७५ अंक बटुले । महिला १० मिटर एयर पेस्तोलमा ४ सय पूर्णाङ्कमा मध्यपश्चिमाञ्चलकी कृष्णा थापाले ३ सय ६२, मध्यमाञ्चलकी संगीता खड्काले ३ सय ५१ तथा मध्यपश्चिमाञ्चलकी जय अन्सारीले ३ सय ३१ अंक जोडे ।
पुरुष १० मिटर एयर राइफलको कूल ६ सय अंकमा मध्यपश्चिमाञ्चलका अर्नभ घिमिरेले ५ सय ४९, आर्मीका सुसे चौधरीले ५ सय ४० र मध्यमाञ्चलका प्रतीक कुँवरले ५ सय ३३ अंक बटुले । पुरुष १० मिटर एयर पेस्तोलमा मध्यमाञ्चलका भिपेश खड्काले ५ सय ३८, आर्मीका पूर्णकुमार श्रेष्ठले ५ सय २० तथा पूर्वाञ्चलका राजु थापाले ४ सय ७० अंक जोडे ।