९ पुस, काठमाडौं / क्रिसमस डेमा अवसरमा सरकारले भोलि (आइतबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट विदा तोकिएको हो ।
क्रिश्चियन समुदायको चर्को दबाबपछि सरकारले क्रिसमसको अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिका प्रेस सल्लाहाकार रामजी दाहालले बताए । यसअघि राजपत्रमा प्रकाशित सार्वजनिक विदा सूचीमा भोलि क्रिष्टियन धर्मावलम्बीहरुका लागि मात्र विदा दिइएको थियो ।
आज मन्त्रीस्तरीय निर्णयबाट सबैलाई विदा दिने निर्णय गरिएको गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए । गृह मन्त्रालयले विज्ञप्ति निकालेर देशभर र विदेशमा रहेको नेपाली कूटनीतिक नियोगहरूमा समेत लागू हुने गरी विदा दिने निर्णय भएको जनाएको छ ।
सरकारले विसं २०६४ पछि डिसेम्बर २५ का दिन सार्वजनिक बिदा दिँदैआएको थियो । र गत वर्ष सरकारले क्रिष्टियन धर्मावलम्बीहरुका लागि मात्र विदा दिने निर्णय लिएको थियो ।
क्रिश्चियन धर्मावलम्बीहरूले येशु ख्रीष्टको जन्मोत्सव भोलि क्रिसमस डेका रुपमा मनाउँदै आएका छन्् ।