१ पुस, विराटनगर / चेतना संरक्षण प्रतिष्ठान नेपाल विराटनगरको नियमित साहित्यिक शृंखला आज सम्पन्न भएको छ ।
मकालु टेलिभिजनको सभाहलमा आयोजित कार्यक्रममा कवि गोकुल अधिकारी र ताराबहादुर बुढाथोकीले आफ्ना कविता वाचन गरेका थिए । प्रतिष्ठानले हरेक महिनाको पहिलो शुक्रबार साहित्यिक शृंखला सञ्चालन गर्दै आएको छ । नवौं शृंखलाका रुपमा आयोजित कार्यक्रममा कवि अधिकारीले गुरुज्यूको प्रश्नभित्र आमा, मेरो परिकल्पनाको नयाँ नेपाल, सालिकलगायतका पाँचवटा कविता वाचन गरेका थिए ।
बुढाथोकीले हिरा बनिरहेछ मकालु, अचानाहरु छामिरहेछु, भुइँचालो तैंले हारिस् लगायत आधा दर्जन कविता वाचन गर्नुभएको थियो । सो अवसरमा दुवैजना स्रष्टालाई प्रतिष्ठानका तर्फबाट अध्यक्ष गंगा सुवेदी, प्राज्ञ विवश पोखरेल, समाजसेवी हरिभक्त सिटौला र दीनबन्धु गोयलले अविर र माला लगाएर सम्मान गरेका थिए ।