पूर्वाञ्चल विश्वविद्यालयको विवाद समाधान, सहमति पछि ताला खुल्यो
पूर्वाञ्चल खबर
३० मंसिर २०७३, बिहीबार १८:२३
3
Shares
३० मंसिर, विराटनगर / विभिन्न माग राख्दै अनेरास्ववियु क्रान्तिकारीले गरेको तालाबन्दी १६ बुँदे सहमतिपछि आजदेखि खुलेको छ ।
गत २७ गतेदेखि अखिल क्रान्तिकारीले विभिन्न माग राख्दै पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगर र काठमाडौंस्थित सम्पर्क कार्यालयमा तालाबन्दी गरेको थियो ।
पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरमा आज बसेको विश्वविद्यालयका पदाधिकारी तथा क्रान्तिकारी विद्यार्थीका पदाधिकारीबीचको बैठकले १६ बुँदे सहमति गरेपछि ताला खुलेको हो ।
सहमतिमा विश्वविद्यालयद्वारा प्रस्तुत विद्यार्थी कल्याणकारी परिषदको मस्यौदामाथि विद्यार्थी संगठनको सहकार्य गरी स्ववियुको सम्बन्धमा कार्यशाला गराई आवश्यक प्रक्रिया अगाडि बढाउने, कान्तिपुर एकेडेमी काठमाडौंलाई कार्यक्रम संचालन गर्न स्वीकृति दिइँदा अपनाइएको नियमअनुसारको भौतिक पूर्वाधार पुगे/नपुगेको सम्बन्धमा छानविन समिति बनाउने, मौका परीक्षा, गोल्डेन चान्स परीक्षा परीक्षा नियन्त्रकको संयोजकत्वमा गठित समितिले १ महिनाभित्र वृहत छलफल गरी दिएको सुझावका आधारमा काम अघि बढाउने, आगामी शैक्षिक वर्ष २०७४/०७५ बाट अनिवार्य १० प्रतिशत छात्रवृत्री लागू गर्ने, आंगिक तथा सम्बन्धन प्राप्त कलेजको शुल्क निर्धारण गर्दा विद्यार्थी संगठनसँग छलफल र सहमति गरि लागू गर्ने, शुल्क निर्धारण गर्दा विद्यार्थीबाट कलेजले सम्बन्धन शुल्क लिन नपाउने लगायतका छन् ।
यस्तै नियमअनुसार नचलेका कलेजको सम्बन्धन खारेज गर्ने विषयमा प्रक्रिया अगाडि बढाउने, गोठगाउँमा मेडिकल कार्यक्रम तत्काल संचालन गर्ने, विश्वविद्यालयको २५ औं सभाले गठन गरेको आयोगले प्रस्तुत गरेको आर्थिक अनियमितता सम्बन्धी छानविन प्रक्रिया तत्काल प्रारम्भ गर्ने, विश्वविद्यालयबाट शिक्षक तथा कर्मचारीहरूको पदोन्नति तथा स्थायी गर्ने प्रक्रिया अबिलम्ब प्रारम्भ गर्ने, काठमाडौं सम्पर्क कार्यालय २ महिनाभित्र व्यवस्थित गरी उपर्युक्त स्थानमा सार्ने उल्लेख छ ।
सहमतिमा पूर्वाञ्चल विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा.डा. घनश्यामलाल दास, कला, कानून तथा शिक्षाशास्त्र संकायका संयोजक डिन शम्भुप्रसाद कोइराला, समन्वय शाखाका प्रमुख राजेश कुमार झा, केन्द्रीय कार्यालयका बरिष्ठ अधिकृत फणिन्द्रराज गौतमले हस्ताक्षर गरेका थिए । यस्तै विद्यार्थीको तर्फबाट अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष मदन चुँडाल, केन्द्रीय सचिव कृष्णभद्र अर्याल, गोपाल कार्की, केन्द्रीय सचिवालय सदस्य देवा यादव र गजेन्द्र देवले हस्ताक्षर गरेका थिए ।