पुरानै संरचना अनुसार गरिने निर्वाचनले राजतन्त्र फर्काउँछ-गोपाल किराती
पूर्वाञ्चल खबर
३० मंसिर २०७३, बिहीबार १४:५७
3
Shares
SAMSUNG CAMERA PICTURES
३० मंसिर, विराटनगर/ पुरानै संरचना अनुसार स्थानीय निकायको निर्वाचन गर्ने शीर्ष नेताहरुबीच छलफल चलिरहेकै बेला नेकपा माओवादी केन्द्र १ नं. प्रदेश समितिले भने यस्तो निर्वाचनमा सहभागी नहुने जनाएको छ ।
विराटनगरमा आज प्रेस सेन्टर मोरङले गरेको पत्रकार सम्मेलन मा बोल्दै १ नं. प्रदेशका इन्चार्ज तथा नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य गोपाल किरातीले राजतन्त्रात्मक संचरनामा गरिने निर्वाचनमा आफ्नो पार्टीले सहभागीता नजनाउने बताएका छन् ।
इनचार्ज किरातीले वर्तमान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले यसखाले सहमतिको मोहरा नबन्न खबरदारी गरिने बताए । पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा पुरानै संरचना अनुसार निर्वाचन गरिए ००७ सालको उपलब्धीलाई १७ सालमा खोसे जस्तै गणतन्त्र पनि खोसिने उल्लेख छ ।
‘स्थानीय तहको संख्या नाम निर्धारण आयोगले प्रमुख राजनीतिक दलहरुको सहभागीतामा तयार गरिएको ७४४ संख्याको नयाँ संरचनामा निर्वाचन गर्न प्रचण्ड सरकार दृढ हुनुपर्छ’ भनिएको छ ।
‘कांग्रेस, एमाले, राप्रपा तथा मधेश केन्द्रीत नेताहरुले पनि जनताको माझमा ‘मुखौटो’ जोगाउनु पर्छ’ विज्ञप्तिमा उल्लेख छ, ‘अन्यथा राजतन्त्रकालिन पुरानै संरचनामा गरिने प्रतिगामी निर्वाचनमा नेकपा माओवादी केन्द्र १ नं. प्रदेश सहभागी नहुने व्यहोरा प्रष्ट गर्दछौं ।’
पत्रकार सम्मेलनमा बोल्दै किरातीले दलका शीर्ष नेताहरुले यसखालको सहमति गरेर पु्रानै संरचना अनुसार निर्वाचन गरे त्यसको प्रतिरोध वा बहिष्कार पनि गर्न सकिने बताए ।
‘पुरानै संरचनामा चुनाव गर्ने भनेको राजतन्त्र फर्काउने षड्यन्त्र हो,’ किरातीले भन्नुभयो, ‘यस्तो निर्वाचनमा हामी किन सहभागी हुने ?’
स्थानीय निकाय पुनसंरचनाका लागि वर्षदिनसम्म आयोगले गरेको मेहनतको प्रतिवेदनलाई सिंगान पुछिएको भन्दै किरातीले १ नं. प्रदेशको पार्टीको बैठक बसेर छिट्टै संस्थागत निर्णय गर्ने बताए ।