१५ मंसिर,सिरहा/ सिरहाको लहान नगरपालिका २ मा एक ग्रील पसलमा लागूऔषध कोरेक्स बेच्ने गिरोहका पाँच जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका २ का समिर भन्ने मोहमद तैयव बाबु, मोहमद समीम, रोहित साह सुडी, लहान ३ का बिष्णुदेव साह र सप्तरी मौवाहा घर भई लहान नगरपालिका १ बस्ने शंकर ठाकुर रहेका छन् ।
लहान २ मा रहेको मोहमद मुर्तुजाको ग्रील पसल पछाडीबाट ८१ बोतल कोरेक्स र सेवन गरी फ्याँकेको खाली बोतल बरामद भएपछि बिशेष कारवाही संचालन गरी उनीहरुलाइ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए ।
मुर्तुजाको पसल पछाडीबाट प्रहरीले ग्यालेनमा लुकाई राखेको अवस्थामा ८१ बोतल लागूऔषद कोरेक्स र २३ थान खाली बोतल बरामद गरेको थियो । पसल संचालक मुर्तुजा भने फरार रहेका छन् ।
पक्राउ परेका पाँचै जनालाई बुधबार जिल्ला अदालतमा उपस्थीत गराई लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।