विराटनगर, १३ मंसिर / नेपाल ट्रेड युनियन कांग्रेसको १ नम्बर प्रदेशस्तरीय भेला सोमबार विराटनगरमा सम्पन्न भएको छ ।
भेलाले सरकारले ल्याएको औद्योगिक व्यवसाय ऐनले श्रमिकहरुमा पर्ने असरका बारेमा छलफल भएको थियो । कार्यक्रममा युनियनका नेता ऋषभदेव घिमिरेले औद्योगिक ऐनले श्रमिकहरुमा पर्ने असर र भावी कार्यक्रमका विषयमा अवधारणा प्रस्तुत गरेका थिए । त्यस्तै उपमहासचिव सञ्जय मिश्र, आत्मराम पौडेल, राजाराम ठाकुर, केदारनाथ दाहाल, भगवती खड्काले औद्योगिक ऐन तत्काल सच्याउन माग गरेका छन् ।
सोही अवसरमा कारखाना श्रमिक संघका अध्यक्ष धीरेन्द्र सिंहले औद्योगिक ऐन कार्यान्वयनमा आए आन्दोलनमा उत्रिने चेतावनी दिए । प्रदेश नम्बर १ का १३ जिल्लाका प्रतिनिधि सहभागी रहेको सम्मेलनको ट्रेड युनियनकी उपाध्यक्ष रमा पौडेलले उद्घाटन गरेकी थिइन् । त्यस्तै कार्यक्रमको उद्देश्य र भावी योजनाका विषयमा ट्रेड युनियन १ नम्बर प्रदेशका कार्यबाहक अध्यक्ष सुशील कोइरालाले प्रकाश पारेका थिए ।