खबर पूर्वाञ्चल
विराटनगर,२२ कार्तिक /पटकपटक स्थगित हुदै आएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता यस पटक पनि निर्धारित समयमा नहुने भएपछि खेलाडीहरुमा निरास छाएको छ ।
आगामी मंसिर ८ गतेदेखि पूर्वाञ्चलमा हुने भनिएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमा नहुने भएको हो । कछुवाको तालमा पूर्वाधार विकासका कामहरु भइरहेको बेला प्रतियोगिता निर्धारित मितिमा नहुने भएपछि खेलाडि तथा प्रशिक्षकहरुमा निराशा छाएको छ ।
दुइ पटक मिति सार्दै तेस्रो पटकका लागि मिति तोकिएको सातौं राष्ट्रिय खेलकुद अन्तर्गतका क्षेत्रीय छनौट प्रतियोगिताहरु स्थगित भएपछि राष्ट्रिय खेलकुद पनि अन्यौलमा परेको छ । प्रतियोगिताका लागि जिल्ला स्तरको छनौट सकिएर कार्तिक २३ गतेदेखि मंसिर ३ गतेसम्म क्षेत्रीय स्तरको छनौट हुने तय भएको थियो ।
तर क्षेत्रीय स्तरको छनौट प्रतियोगिता नै स्थगित भएपछि मंसिर ८ गतेदेखि हुने भनिएको राष्ट्रिय प्रतियोगितासमेत समयमा नहुने निश्चित भएको छ । यसरी पटकपटक मिति सर्दा खेलाडिहरुलाइ अभ्यास गराउन समस्या हुने कराँतेका प्रशिक्षक विमल पोखरेल बताउँछन् ।
त्यस्तै गत वर्षपनि कराँतेमा छनौट भएका खेलाडी संजिव राइ यसपटक पनि प्रतियोगिताको मिति सर्दा आफुहरु अन्योलमा परेको बताउँछन् । यसरी पटकपटक मिति सर्दा जोस हराउँदै जाने उनको भनाई छ । आफ्नो पढाइ, रोजगार लगायतका विभिन्न कुराहरुलाई व्यवस्थापपन गरेर प्रतियोगिताको तयारी गरिरहेका खेलाडिहरुलाई पटकपटक मिति सारिदा हौसला कम हुने उनीँ बताउँछन् ।
यता राष्ट्रिय खेलकुद विकास परिषद्का सदस्य सचिव केशव बिष्टले भने प्रतियोगिता केही दिनका लागि मात्रै सरेकाले खेलाडि तथा प्रशिक्षकहरुलाई चिन्ता नलिन आग्रह गर्छन् । बर्षातका कारण पूर्वाधार निर्माणमा समेत ढिलाइ भइरहेका बेला केहि दिन मिति सर्दैमा केहि घाटा नहुने उनको भनाइ छ ।
तर पूर्वाञ्चलका विभिन्न ठाउँमा सञ्चालन हुने प्रतियोगिताका लागि आवश्यक केही पूर्वाधार अझै तयार हुन सकेका छैनन् । प्रतियोगिताको उद्घाटन हुने शहिद रंगशालाको मर्मत कार्य भइरहेको छ । त्यस्तै क्रिकेट, सुटिङ लगायतका खेल हुने भनिएको झापा बैजनाथपुरको प्रस्तावित रंगशालाको अवस्था पनि अझै दयनिय छ । यसअघि नै करोडांै खर्च भएसकेको सो रंगशालामा यतिबेला धानका बाला लहलहाइरहेका छन् भने क्रिकेट पिचसमेत घाँसे मैदान बनेको छ । पूर्वाधार तयारीमा आलटाल भइरहेको बेला निर्धारित समयमा प्रतियोगिता हुन नसक्दा प्रतियोगिता हुने हो वा हैन भन्नेमा आशंका उत्पन्न भएको छ ।