खबर पूर्वाञ्चल
अनिल श्रेष्ठ
विराटनगर, २० कार्तिक/ विराट अस्पताल प्रालिको परिसरमा आज झडप हुँदा ८ जना घाइते भएका छन् ।
अस्पतालको तेस्रो तल्लाबाट हाम्फालेर मृत्यु भएका सुनसरी पूर्व कुशाहाका युवकका आफन्त र प्रहरीबीच झडपमा परी ६ जना मृतकका आफन्त र २ जना प्रहरी घाइते भएका हुन ।
घाइतेको अवस्था सामान्य रहेको छ । घाइते हुनेहरुमा मृतकका आफन्त धीरेन्द्र चौधरी, सुरजलाल माझी, सतिदेवी चौधरी, महेश माझी, फुटनलाल माझी रहेका छन् ।
यस्तै प्रहरी तर्फ हवल्दार मदनेश्वर राम र जवान राजकुमार भण्डारी घाइते भएको मोरङ प्रहरीले जनाएको छ ।
अस्पतालको तेस्रो तल्लाबाट हाम्फालेर आत्महत्या गरेका युवक अनोज विश्वासको शव बुझ्न परिवारले मानेका छैनन् । तीन दिनअघि भएको उक्त घटनाको निष्पक्ष छानविनको माग गर्दै मृतकका आफन्तले अस्पताल घेराउ गरेका थिए । अस्पताल घेराउमा गएकाहरुलाई हटाउने क्रममा प्रहरी र उनीहरुबीच झडप भएको हो । झडपले अस्पताल केहीबेर तनाबग्रस्त बनेको थियोे ।
यता तीन दिनदेखि अस्पतालमा २५ वर्षीय विश्वासको शव अलपत्र छ । अस्पतालको हेलचेक्रयाईले गर्दा उपचार गराइरहेका युवकले आत्महत्या गर्न बाध्य हुनुपरेकोले पीडित परिवारले आरोप लगाएका छन् ।
परिवारजनले मृतककी पत्नीलाई अस्पतालमा रोजगार दिनुपर्ने वा परिवार धान्नका लागि क्षतिपूर्ति रकम दिनुपर्ने माग गरेका छन् । उनीहरुले अस्पतालमा उपचार गराउँदा लागेको शुल्क अस्पतालले मिनाहा गर्नुपर्ने मागसमेत राखेका छन् ।