RUMPUM
animated ellipse animated ellipse

मानिसको जिनसम्बन्धी नयाँ खुलासा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ कार्तिक २०७३, बुधबार १९:३४
3
Shares
५० देखि ८० हजार वर्ष पहिले आप्रवासीको एउटै समूहबाट मानवजाति संसारभर फैलियो

संसारमा मानव जातिको जनसंख्या ७.४ अर्ब पुगेको छ। संसारभर छरिएका मानिस फरक–फरक भाषा बोल्छन्, फरक संस्कृति तथा फरक जीवनशैली अपनाएका छन्। तर संसारका सबै मानिसका पुर्खा भने २ लाख वर्ष पहिले अफ्रिका महादेशमा विकसित भएको एउटै मानव जातिको समूह भएको जिनसम्बन्धी नयाँ अध्ययनले देखाएको छ।

डेली मेल पत्रिकाका अनुसार उक्त समूह करिब १ लाख ३० हजार वर्ष पहिले टुक्रन र विभिन्न समूहमा विभाजित हुन सुरु भयो। तर उनीहरु कसरी संसारका कुना कुनामा फैलिए त? उक्त प्रश्न मानव जातिको क्रमिक विकाससम्बन्धी अध्ययनमा महत्वपूर्ण रहँदै आएको छ।

वर्षाैं लामो खोज र अनुसन्धानपछि गत महिना क्रमिक विकासका अनुसन्धानकर्ताले उक्त प्रश्नको जवाफ भेटेको घोषणा गरेका छन्। उनीहरुको निष्कर्ष छ–संसारका सबै गैरअफ्रिकनका पुर्खा ५० देखि ८० हजार वर्ष पहिले अफ्रिकाबाट भएको बसाइँको लर्को लाग्ने जनसंख्याको एउटै समूह हो।

गत महिना ‘नेचर जर्नल’मा शृंखलावद्ध ढंगले प्रकाशित जिन विश्लेषणसम्बन्धी तीन फरक समुहका छुट्टाछुट्टै लेखहरूमार्फत् उक्त घोषणा भएको हो। तीन समूहमा विभाजित अनुसन्धानकर्ताको समूहले लामो र गहिरो जिनसम्बन्धी अध्ययन र विश्लेषणपश्चात् उक्त निष्कर्षमा पुगिएको न्युयोर्क टाइम्सले बताएको छ।

अध्ययनका निम्ति संसारका विभिन्न भागमा बस्ने र फरक संस्कृति भएका मानिसको समूहबाट जिन सङ्कलन गरिएको थियो।

‘मेरो विचारमा तीन वटै अध्ययनले आधारभूत रूपले एकै कुरा भन्दैछन्,’ वाशिङटन विश्वविद्यालयका अनुसन्धानकर्ता जोसुवा एकेले न्युयोर्क टाइम्सलाई भने, ‘हामीले जान्यौं कि अफ्रिकाबाट धेरै पटक र धेरै समूहमार्फत् मानिसहरू छरिए। तर, हामी सबैका पुर्खा त्यसरी छारिएका विभिन्न समूहमध्येको एउटा समूह हो।’

तीन वटा अनुसन्धानको समूहले क्री इन्डियन, शेर्पा, अफ्रिकन पिजिम, बास्क जस्ता समूहबाट ७८७ जना मानिसको जिन सङ्कलन र विश्लेषण गरेको थियो। विभिन्न स्थानमा छरिएका आदिवासीको डिएनए अध्ययन मानव इतिहास बुझ्न आवश्यक हुने जिनविद्हरुको भनाइ छ।

मानिस कसरी अफ्रिकाभरि फैलिए वा कसरी अस्ट्रेलियासम्म पुगे र त्यहाँ कसरी उनीहरुको बाक्लो उपस्थित हुन पुग्यो भन्ने जस्ता प्रश्नको उत्तर अनुसन्धानकर्ताका समूहले खोजेको थिए।

सन् ८० को दशकमा नै अवशेष तथा जिन विशेषज्ञको एक टोलीले करिब ५० हजार वर्ष पहिले मात्र मानिस अफ्रिकाबाट फैलिएका हुन् भन्ने दावी प्रस्तुत गरेको थियो। त्यसपछि मात्र मानिस युरोप र अस्ट्रेलियामा बस्न सुरु गरेका हुन् भन्ने कुरा पुरातात्विक स्थलमा भेटिएका अवशेष तथा विभिन्न औजारले सङ्केत गरेको थिए।

यसअघि भएका केही डिएनए विश्लेषणले समेत उक्त दावी सही हुन सक्ने देखाएको थियो। अफ्रिका बाहिर बस्ने संसारभरका मानिस नजिकबाट एकअर्कामा सम्बन्धित देखिएका थिए र उनीहरुका पुर्खाको हाँगो अफ्रिकामा पुगेको देखिएको थियो।

त्यस समयमा अफ्रिकाका आधुनिक मानिव जातिका समूहहरु कति पटकसम्म अफ्रिका बाहिर बसाइँ सरे भन्ने प्रश्नको उत्तर उनीहरुले खोजेका थिए। अवशेष अध्ययनले अफ्रिकाबाट धेरै समूहहरु अन्य महादेशतर्फ बसाइँ सरेको देखाएको थियो। तर नयाँ अध्ययनका अनुसार आधुनिक मानव जातिका पुर्खा अफ्रिकाका विभिन्न समूहबाट होइन, १ लाख २५ हजारदेखि एक लाख ३० हजार वर्ष पहिले अफ्रीकाको आधुनिक मानव जातिबाट टुक्रिएको एउटै मानव जातिको समूहबाट फैलिएको देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर