मुम्बई,१४ वैशाख /चर्चित भारतीय अभिनेता विनोद खन्नाको आज निधन भएको छ ।
पछिल्लो समय ब्लड क्यान्सरका कारण थलिएका ७० बर्षीय खन्नाको मुम्बईको एचएन रिलायन्स फउण्डेशन एण्ड रिसर्च सेन्टरमा उपचारको क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सन् १९४६ मा तत्कालीन भारतको पेशावरमा जन्मिएका खन्ना बलिउडका सुपरस्टार अभिनेता मध्य एक हुन् । उनले १ सय ५० भन्दा बढी भारतीय चलचित्रका अभिनय गरेका छन् ।
सन् १९६८ मा ‘मन का मित’ चलचित्रमार्फत उनले बलिउडमा डेब्यु गरेका थिए । त्यस फिल्ममा उनी भिलेनको रोलमा थिए । त्यसयता उनले एक से एक हिट फिल्म दिए । उनी आफ्नो समयका सबैभन्दा उत्कृष्ट र चर्चित अभिनेता थिए । अभिनेता खन्नाले ‘इन्साफ’, ‘सत्यमेव जयते’जस्ता व्यावसायिक हिसाबले निकै सफल फिल्ममा काम गरेका छन् ।
सन् १९९८ देखि राजनीतिमा पाइला राखेका बिनोद खन्ना पञ्जावको गुरदासपुरबाट चार पटक भारतीय जनता पार्टीका लागि सांसद निर्वाचित भएका थिए । सन् २००३ मा प्रधानमन्त्री अटल बिहारी बाजपेयीको क्याविनेटमा उनी बिदेश राज्यमन्त्री बनेका थिए । एजेन्सी